प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम बसी प्यूठानको गौमुखी र ऐरावतीमा विभिन्न स्थानबाट तीर्थयात्रीहरू स्नान गरी माघे सक्रान्ती पर्व मनाउँछन् ।
प्यूठानको उत्तरी भेगमा पर्ने झिमरुक नदिको उद्गम स्थल गौमुखी र झिमरुक र माडी नदिको सङ्गम स्थल ऐरावतीमा भक्तजनहरू पौष मसान्त देखी नै भिडभाड लाग्ने गर्दछन् । माघे सक्रान्तीका अवसरमा प्यूठानका यी दुवै ठाउँको पानीले स्नान गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
स्वर्गबाट अप्सराहरू ऐरावत हात्तीमा सवार गरी पवित्र जल भएको स्थानमा स्नान गर्न आउने र स्नान गरिसकेपछि स्वर्गद्वारीको बाटो हुँदै स्वर्ग प्रस्थान गर्ने ठाउको रूपमा ऐरावतीलाइ चिनिने किम्बदन्ती रहेको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले बताए ।
पुष मसान्त साँझ देखी स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै पालिकाले सांस्कृतिक कार्यक्रमको आयोजना गरी पुरस्कारको व्यवस्था गरेको छ । ऐरावतीमा रातभर भक्तजनहरू भजन कीर्तन सँगै नाचगानमा रमाइ माघ १ गतेका दिन बिहानै स्नान गरी फर्कने गर्दछन् ।
ऐरावती गाउँपालिकाको १ नम्बर वडामा पर्ने उक्त स्थानमा प्यूठान ,दाङ, कपिलवस्तु र अर्घाखाँचीबाट समेत ठुलो सङ्ख्यामा तीर्थयात्रीहरू उपस्थित हुने शाहले बताए ।
त्यस्तै प्यूठानको झिमरुक नदिको उद्गम स्थल गौमुखीमा पनि माघे सक्रान्ती मेला लाग्ने गर्दछ । हरेक वर्ष लाग्ने मेला यस वर्ष पनि लाग्ने भएको छ । अहिले स्थानीयहरूले स्नान गर्न आउने भक्तजनहरूलाई स्वागत गर्न सुन्दर गेट समेत निर्माण गरेको स्थानीय मित्र थापाले बताए । त्यस्तै प्यूठान नगरपालिका ४ बाझोवारिमा विगतका वर्षमा जस्तै यस वर्ष पनि माघी मेला लाग्ने भएको छ ।
मेलाका अवसरमा मगर सस्कृती झल्कने नाचगान, विभिन्न रोटी परौठा,खादै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । मेलामा लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायिका सम्झना रणपाल , स्थानीय कलाकार , प्यूठान डान्स आइडल सिजन २ का कालाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
जिल्लाको सरुमारानी गाउँपालिका ४ रानी कुवामा पनि माघी मेला लाग्ने भएको छ । २०७५ साल देखी लाग्दै आएको मेला यस वर्ष पनि भव्य रूपमा लाग्ने वडाध्यक्ष चिन्त बहादुर सोमै मगरले बताए । परापूर्व कालमा भुरेटाकुरे राजाहरू त्यस ठाउँमा बस्ने हुँदा उक्त ठाउँलाई रानी कुवा भनिएको हो । माघ १ लाग्ने उक्त मेलामा प्राय मगर जातिको बाहुल्यता बढी भएको हुँदा स्थानीयहरूले बारा रोटी ,फापरको परौठा , तरुल , बङ्गुरको मासु खादै विक्रिवितरण गदै नाचगानमा रमाउँछन् । जहाँ मारुनी सोरठी नाच समेत हुने हुँदा मेला भर्न आउनेहरूको उत्साहजनक सहभागिता रहन्छ । गाउँपालिकाले रानीकुवालाइ पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न १ करोड भन्दा बढी रकम विनियोजन गरी काम गरिरहेको सोमैले बताए ।
माण्डवी गाउँपालिकाको १,३ र ५ नम्बरको सङ्गम स्थल, अरङखोला र माडी खोलाको सङ्गम स्थल त्रिवेणी धाममा माघी मेला हुने गर्दछ । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त धाममा भक्तजनहरूले बिहान स्नान गरी दिउँसो भजन कीर्तनमा रमाउने माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोशनले जानकारी दिए ।