गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको छ । मदाने गाउँपालिका १ अग्लुङ्ग चुत्रबोट निवासी शिक्षाप्रेमी सुबेदार हुम बहादुर मल्लले श्रीमती तोयासरा मल्लको स्मृतिमा शुक्रवार ५० हजारको तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरेका हुन ।
आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यालयका ३ जना विद्यार्थीलाई वार्षिक २ हजार र शैक्षिक सत्रको अन्तिम नतिजामा कक्षा ५ र विद्यालय प्रथम हुने विद्यार्थीलाई १ हजार ५ सय प्रोत्साहन स्वरुप प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरेको परिवारले जनाएको छ ।
सरकारले आधारभूतसम्मको शिक्षा अनिवार्य र निःशुल्क भने पनि दुर्गम गाउँका विद्यार्थीलाई कापी, कलम जुटाउन समेत सकस परेको छ ।आर्थिक अभावका कारण विद्यालय पोशाक र कापी, कलमको खर्च जुटाउन नसक्ने स्थिति भएपछि बर्षेनी कैयौं विद्यार्थीहरुले विद्यालय छोड्ने गरेका छन ।
यस्तो अवस्थामा उक्त अक्षयकोषले आर्थिक रुपले विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन ठूलो सहयोग हुने विद्यालयका प्रधानाध्यापक प्रचण्ड रावतले बताए ।
मल्लले २०५४ सालमा स्थापना भएको विद्यालयको संस्थापक शिक्षक अभिभावक संघको अध्यक्ष पदमा रहेर विद्यालयको शैक्षिक, भौतिक, सामाजिक तथा आर्थिक रुपमा अतुलनीय योगदान पुर्याएकाे रावतले बताए ।