मगर समुदायमा नाचिने परम्परागत संस्कृति मारुनी अर्थात् ठूलो नाच जोगाउन पछिल्लो समय युवाहरू सक्रिय रूपमा लागेका छन् । १० वर्ष अघिसम्म मगर समुदायको टोलटोलमा देखिने यस्तो नाच अहिले बिरलै देख्न पाइन्छ । मल्लरानी गाउँपालिका-५, बेलडाँडा (थापा बस्ती) का युवाहरु अहिले यही नाच बचाउन लागि परिरहेका छन् ।
परम्परागत संस्कृति संरक्षणमा कसैको ध्यान नजाँदा यस्तो नाच नाचिन छाडेको हो । ‘युवा पुस्ताले यसलाई झन्जटिलो मान्छन्,’ मल्लरानी-५ बेलडाँडाका भिम बहादुर थापा मगर भन्छन्, ‘बुढा पुस्ताले धानेकाले नै अहिलेसम्म कतैकतै नाचिदै आएको छ ।’ मेहनतका साथ देवी-देवताको भाकल गर्दै दसैंदेखि पुस १५ सम्म यो नाच नाचिन्छ ।
मनोरञ्जनका साधन केही नहुँदा भने टोलटोलमै यस्ता नाच नाचिने गरेको थपाले बताए । हाम्रो यो नाचको समुह तिहार (बलिहाङ पर्व) मा देउसी भैलो खेल्ने र पौष १५ भित्र भैलो फुकाउने चलन छ । ठाउँ अनुसार केही फरक चलन छ होला, हाम्रो यहाँको चलनसङ्ग नमिल्न सक्छ । “शिवजी कैलाशमा गएर बसेको र गीतबाट शिवजीकै कथा पनि समेटेर गाउने भएकाले गोबरको कैलाश / हिमाल बनाउछौ” थापाले भने ।
बलिहाङ पर्व (तिहार) को भैलो फुकाउने भएकाले शिवजी र बलिहाङ राजाको नाममा बनाएको कैलाश र राजाको मुर्तिलाई कुमार केटाले बिहानै देखि पानी पनि नखाएर त्यसमा धुप बत्ती गरिरहनुपर्छ । ‘हामी गीत बाटै पालैपालो लगाएका ड्रेस, बाजा तथा सम्पुर्ण सामानहरु बिसर्जन गर्छौं । अन्त्यमा मादलेले कुखुराको भाले र मारुनिले पोथी चल्ला हतियार प्रयोग नगरी हातले चिमुटेर सबै सामनहरुलाई भोक दिने प्रचलन छ,’ थापाले भने ।
यो नृत्य मनोरन्जनका लागि मात्र होइन, पराम्परागत कला-संस्कृति जोगाउनसमेत महत्वपूर्ण रहेको उनले बताए । पछिल्लो पुस्ताले यो नाच नाच्न सिक्न, यसको लयमा लय मिलाउन तथा मादलको तालमा नाच्नखासै ध्यान दिएको पाइँदैन । ‘सबै कुरा सिक्न निकै गार्हो छ,’ मारुनी नाच्ने युवा प्रितम थापा मगर भन्छन्, ‘तैपनि हामी युवा पुस्ताले सिक्नुपर्छ भन्ने मान्यतामा छौं ।’
प्युठान जिल्लाको डामृ, खबाङ्ग, स्याउलिबाङ्ग, सराङ्गबेसी, कैरन, जुम्रीकाडा, स्वर्गद्वारीको खाल, माझकोट आदि गाउँमा अहिले पनि यो नाच कहिकतै देख्न पाइन्छ भने रोल्पा, पाल्पा, सल्यान, रुकुम, दाङ्ग आदि छिमेकी जिल्लाहरुमा समेत कहिकतै छ भन्ने सुनिन्छ,’ थापाले भने । मल्लरानी-५, का वडा अध्यक्ष राम बहादुर थापा मगरका अनुसार मारुनी परम्परागत नाच हो ।
पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाएर मादलको तालमा यो नाच नाचिन्छ । पुराना पौराणिक कथाहरूमा आधारित गीत गाएर नाचिने यो नृत्य मगर जातिको संस्कृति भएको अध्यक्ष थापाले बताए । यो नाच प्राय: सबै ठाउँमा सबै जातिले अपनाएको देखिन्छ ।
मारुनी नाचमा दुई जना मारुनी दुई देखि तीन जना मादले, एक अथवा जना पुरसुङ्गे तथा ६ जनादेखि १० जनासम्म गायक हुन्छन् । गायकहरूमध्ये एक जना गुरु हुन्छ । थापाका अनुसार गीत निकाल्ने ‘रौरा’ ले गीत निकाल्छ । खास गरेर दसैं, तिहार, देउसी/भैली, न्वारन, पूजा, कुत बढाई (छोरा पाउँदा) आदि समयमा मारुनी नाच नाचिन्छ ।
‘मारुनी’ नै यो नृत्यको मुख्य पात्र हुन् । मारुनीहरू मादलेको तालसँगै अगाडि-पछाडि घुमेर नाच्छन् । सिंगारिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन् । यो नृत्यमा पुरसुङ्गेहरू पनि मारुनीसँगै नाच्छन् । पुरसुङ्गेले महिलाको कपडा लगाएको हुदैन । पुरसुङ्गेले मारुनीकै हाउभाउमा ताल मिलाउनुपर्छ ।
‘पुरसुङ्गेहरू बदलिएर नाच्न सक्छन् । यसका लागि नाच्ने कला हुनु जरुरी छ,’ रौरा थापाले भने । मारुनी नाचमा गीत अनुसार मादलको ताल पनि अलग-अलग हुन्छ । मादलको ताल बिग्रियो भने गुरुलाई स्वर तथा गीत परिवर्तनको संकेत दिइन्छ । यो लोपोन्मुख मौलिक संस्कृति जोगाउनु हाम्रो समुदायको दायित्व भएको रौरा थापाले बताए ।