झुलेनी नेटवर्क २०८३ साउन १९ गते



२०८३ साउन १९ गतेसधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर श्रमदान । स्थानीय किसानहरूको नियति नै यही थियो । खोलाबाट कुलो त ल्याए, तर कच्ची कुलो भएकाले दुःख कहिल्यै सकिएन । तर, जब किसानको यो वर्षौंदेखिको समस्या सरकारले सुन्यो, तब योजना सम्पन्न भएका क्षेत्रका किसानका अनुहारमा खुसी छाएको छ ।
यस वर्ष सिंचाइ योजना सम्पन्न भएका प्यूठान नगरपालिका –८ , स्वर्गद्धारी नगरपालिका –३ र ९ नम्बर वडाका किसान आफूहरुको जमिनमा सिंचाइ गर्ने कुलो पक्की बनेपछि खुसी भएका हुन् । प्यूठानको अन्नभण्डार अर्थात् मानो रोपेर मुरी फलाउने झिमरुक उपत्यकाको फाँट क्षेत्रलाई सिंचाइ गर्न भनेर २०४४ सालमा निर्माण गरिएको ऐतिहासिक धर्मावती सिंचाइ नहर जीर्ण बनेपछि यहाँका किसान चिन्तित थिए । तर यसवर्ष एलबी÷रमि विकास जेभीले निर्माणको जिम्मा लिएर नहर सम्पन्न गरेको छ । ४ करोड ९६ लाख ३ हजारको लागत अनुमान गरिएको यो नहरलाई २ करोड ५१ लाख ८७ हजार रुपैयाँमा पुनर्निर्माण सम्पन्न गरेको छ । यसबाट प्यूठान नगरपालिका वडा नम्बर ८ का दम्ती, खप्रेङखोला र बाग्दुला क्षेत्रका २ हजार ७ सय ३१ जना किसानको १ सय ५० हेक्टर जमिनमा सहज सिंचाइ पुगेको छ ।
झिमरुकको पानी बाह्रैमास खेतमा आउन थालेपछि अहिले यहाँका किसान परम्परागत खेती छाडेर व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएको कुलो समितिका अध्यक्ष कृष्ण पन्थीले बताए । प्यूठान नगरपालिकाको धर्मावतिमा मात्र होइन यस वर्ष स्वर्गद्धारी नगरपालिका क्षेत्रमा दुइ वटा सिंचाइ योजनाहरु सम्पन्न भएपछि स्थानीय किसान खुसी भएका छन् ।
२०११ सालदेखि कागपाती खोलाबाट श्रमदान गरेर ल्याइएको कुलोलाई अहिले आधुनिक रूप दिइएको छ । ’दिवाङ सिंचाइ स्वर्गद्वारी–९ योजना’ अन्तर्गत ३ करोड ३५ लाख ८४ हजार रुपैयाँको लागत अनुमान गरिएकोमा, १ करोड ४७ लाख ६३ हजार रुपैयाँमा यो योजना सम्पन्न भएको छ । रोल्पाको हरीभक्त निर्माण सेवाले निर्माण गरेको यो पक्की कुलोले स्वर्गद्वारी ९ का वल्लोदिवाङ, पल्लोदिवाङ, दमारा र लामाचौर क्षेत्रका २ हजार ५ सय ४० जना किसानको ५० हेक्टर जमिनमा बाह्रैमास सिंचाइ पु¥याएको छ। कुलो निर्माण सम्पन्न भएपछि स्थानीयलाई महिनौ श्रमदान गर्न पर्ने बाध्यता हटेको स्थानीय नरेश सिंह धामीले बताए ।
यस्तै कच्ची कुलो मर्मत गर्नकै लागि बर्षेनी महिनौंसम्म श्रमदान गर्नुपर्ने अर्को बाध्यता स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ मा पनि थियो । ४ करोड ५० लाख २१ हजार रुपैयाँ लागत अनुमान गरिएको ’धनबाङ खोला ठूलोकुलो सिंचाइ योजना’लाई डिभी÷शिशिर बसन्त जेभी सुर्खेतले २ करोड ७ लाख ८० हजार रुपैयाँमा सम्पन्न गरेको जलस्रोत तथा सिंचाइ डिभिजन कार्यलय प्यूठानका प्रमुख नवराज पोख्रेलले बताए । यहाँको पक्की बाँध र कुलो बनेपछि भद्रपुर, चिरावारी, ददेरी र उपल्लो भिगृका ६ हजार ३ सय स्थानीयको १ सय ७ हेक्टर जमिन सिञ्चित भएको छ । अहिले यहाँका किसानहरू ढुक्कले खेती गरिरहेका छन् ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।














