छाति दुख्ने समस्यावाट नेपालका अत्याधिक मानिसहरु पिडित छन्। छाति दुख्ने समस्याले थुप्रैलाई त्रसित वनाएको छ हृदयघात त होईन? भनेर।।
चिकित्सकलाई आधार मान्ने हो भने हृदयाघात भएमा छातीको देब्रे भागमा बेस्सरी पीडा हुने गर्छ । जब कि अन्य कारणले छाती दुखेमा छातीको दायाँतर्फ अधिक पीडा हुने गर्छ । आवश्यकभन्दा बढी कसरत गर्नु, पेटमा जलन, अपच वा पेट सम्बन्धी अन्य थुप्रै समस्याका कारण पनि छाती दुख्ने गर्छ ।
छाती दुख्ने समस्या पनि व्यक्तिपिच्छे फरक हुने गर्छ । कसैलाई थोरै समयको लागि छाती बेस्सरी दुख्ने गर्छ भने कसैलाई लामो समयसम्म छाती हल्का दुख्ने गर्छ । हृदयाघात बाहेक अन्य समस्याका कारण छाती दुखेमा त्यसले गम्भीर समस्या भने खासै निम्त्याउँदैन ।
छाती दुख्ने अन्य कारण
हृदयाघात, एन्जिना, मुटुको धमनीमा अवरोध सिर्जना भएमा, पेरीकार्डिटिस, मुटु सुन्निएमा, कार्डियोमायोपैथी, मुटुको मांसपेशीमा समस्या भएमा वा मुटुको धमनीमा घाउ भएमा पनि छाती दुख्ने गर्छ ।
त्यस्तै, ब्रोन्काइटीस, निमोनिया, प्लूरिसी, न्यूमोथारेक्स, ब्रोकोस्पास्म वा वायु नली संकुचित हुने लगायतका फोक्सो सम्बन्धी समस्या भएमा पनि छाती दुख्ने गर्छ ।
त्यसबाहेक, मांसवपेशी वा हड्डी सम्बन्धी समस्याका कारण छाती दुख्ने गर्छ ।
-मांसेपेशी वा हड्डीमा चोटपटक लागेमा
-शारीरिक परिश्रम वा मांसपेशी दुखेमा
-फ्याक्चर कारण नसामा दवाव सिर्जना भएमा
-सिंगल्सजस्ता छालासम्बन्धी समस्या भएमा
छातीको दुखाइमा छातीमा पीडा हुनुबाहेक यस्ता अन्य लक्षणसमेत देखा पर्नसक्छन् ।
लक्षण
-छातीमा दवाव महसुस हुनेु
-बंगारा, ढाड तथा काँध दुख्ने
-चक्कर लाग्ने
-थकान महसुस हुने
-पेट दुख्ने
-सास लिँदा अप्ठ्यारो महसुस हुने
-वाकवाकी लाग्ने
छाती दुख्ने समस्याका कारण शरीरमा मात्र नभई दैनिकीमा समेत समस्या हुने गर्दछ । त्यसैले यस्ता समस्या भएमा तुरुन्तै चेकजाँच गराउनु पर्छ । त्यसबाहेक केही घरेलु औषधी पनि छन् जसको प्रयोगद्वारा छाती दुख्ने समस्या कम गर्न सकिन्छ ।
लसुन
विभिन्न प्रकारका औषधीय गुणले भरिपूर्ण लसुनको सेवनले मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ । यसले हृदयमा प्रभावकारी रूपमा रक्तप्रवाह गर्न मद्दत गर्छ । विशेषगरी मुटुमा रक्तसञ्चार राम्ररी नभए कार्डियोभास्कुलर समस्या हुने सम्भावना बढ्छ, जसका कारण छाती दुख्ने गर्छ । एक कप तातो पानीमा एक चम्चा लसुनको रस वा खाली पेटमा एक वा दुई पोटी लसुन दैनिक सेवन गरेर छाती दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
एलोवेरा जुस
एलोवेरा (घिउकुमारी०मा विभिन्न औषधीय गुण हुन्छ । यसमा रहेको तत्वले कार्डियो भास्कुलर सिस्टम बलियो बनाउन, राम्रो कोलेस्ट्रोरलाई नियन्त्रण गर्न, रगतमा ट्राइग्लिसराइडको स्तर कम गर्न तथा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
त्यसैले, एक चौथाइ कप एलोभेरा जुसको सेवन नियमित गरेको खण्डमा छाती दुख्ने समस्या कम हुने गर्छ । यो जुस दिनमा दुई पटकसम्म सेवन गर्न सकिन्छ ।
भिटामिन
विभिन्न अध्ययनहरूले जनाए अनुसार शरीरमा भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ को कमी भएमा छाती दुख्नुका साथै हृदयाघात हुनसक्छ । त्यसैले छाती दुख्ने समस्या भएमा चिकित्सकहरू भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ले भरिपूर्ण आहारको सेवन गर्न सल्लाह दिन्छन् । भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ माछा, पनीर, अण्डा, अन्न, सोया तथा मासुजस्ता खानेकुराबाट पाउन सकिन्छ ।
तातो पेय पदार्थ
अपच वा एसिडिटीका कारण छाती दुख्ने समस्या भएमा तातो पानी राम्रो विकल्प हुनसक्छ । एक गिलास तातो पानीको सेवन वा हर्बल टीको सेवनले पेट सुन्निने समस्या कम हुनुका साथै पाचन तन्त्रमा आराम दिलाउँछ । यसले छाती दुख्ने समस्या कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
दूध बेसार
वेसारमा भरपूर मात्रामा करक्यूमिन पाइन्छ । यसको सेवनले कोलेस्ट्रोल कम गर्न, रगत जम्न तथा धमनीको अवरोध कम गर्न मद्दत गर्छ । त्यसबाहेक पनि करक्यूमिनमा सुन्निने समस्या कम गर्ने तत्व हुन्छ, जसले छाती दुख्ने समस्या तुरुन्तै कम गर्न मद्दत गर्छ । यसको लागि एक गिलास दूधमा आधा चम्चा बेसारको धुलो मिसाएर पिउनाले दुखाइ कम हुन्छ । त्यसका लागि बेसार राति सुत्नुअघि दूधमा बेसार हालेर पिउन सकिन्छ ।
तुलसी
तुलसीमा पर्याप्त मात्रामा भिटामिन ‘के’ तथा म्याग्नेसियम पाइन्छ । म्याग्नेसियमले मुटुको रक्त प्रवाह बढाउनुका साथै रक्तवाहिनी नसालाई आराम दिलाउन मद्दत गर्छ । जब कि भिटामिन ‘के’ ले रक्त वाहिकाको भित्तामा कोलेस्ट्रोल निर्माण हुनबाट रोक्छ । यसले हृदयसम्बन्धी रक्त विकार कम गर्नुका साथै छातीको दुखाइ कम गर्न समेत मद्दत गर्छ । यसको लागि आठ देखि १० पत्ता तुलसीलाई यसै पनि चपाउन सकिन्छ वा चियाको रूपमा पनि सेवन गर्न सकिन्छ । एक चम्चा तुलसीको रसमा मह मिसाएर पिएमा पनि छाती दुख्ने समस्या तुरुन्तै कम गर्न सकिन्छ ।
श्रोतः अनलाईनखवर