नौबहिनी–सधैं गोरु चराउन जंगल जानुपर्छ । भिराला पाखा, पखेरा । कतिबेला लडिने हो भन्ने डर । ज्यान सञ्चो भएपछि एउटा न एउटा काम गर्नैपर्छ भन्ने मनमा हुट्हुटी भैरहने । प्यूठानको नौबहिनी गाउँपालिका–६ लुङका ७५ वर्षीय हरिबहादुर के सी दौतरीसंगै लुङको पौवापोखरा क्षेत्रको जंगलमा सधैं गोरु चराउन जान्थे ।
पौवापोखरा चौपारीमा बसेर दौतरीबिच आँखा बसेका कुरा हुन्थे । आँखा नदेख्ने भएपछि घर कुरेर बस्ने दिन आउन थाल्यो कि भन्दै दुःख साटासाट हुनथ्यो । संगै भैसी चराउन आउने ७८ वर्षीय ग्यानीदेबि कामी आँखा नदेख्ने भएपछि भैसी चराउन ल्याउन छोडीसकेकी थिइन । स्थानीय फनबहादुर कामीको पनि अवस्था उस्तै भइसकेको थियो । हरि बहादर भन्छन्,‘उमेर बढ्दै जादा बर्षौ हिडेको आँगन, गोरेटो, आफूहरुका लागि तारेभिर भइसकेका थिए ।’
अहिले नौबहिनी गाउँपालिकाका वृद्धवृद्धाको अवस्था फेरिएको छ । गएको फागुनमा पालिकाले ८ वटै वडामा आँखा शिविर सञ्चालन गरेको थियो । पालिकाले आँखाका समस्या देखिएका १ सय १७ जना बिरामीको निःशुल्क शल्यक्रिया गर्दिएको छ । नौबहिनी ६,मा मात्रै लालबहादुर केसी, हरी बहादुर केसी, जुरेली सुनार, पबित्रा केसी, बसन्ता केसी लगायत १४ जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ । त्यसैले त स्थानीय पौवापोखरा क्षेत्रको जंगलमा गोरु, भैसी चराउन आउने वृद्धहरु भेटिन थालेका छन् । हरी बहादुर, फनबहादुर र ग्यानी देविहरुले आफ्ना आँगन गोरेटाहरु राम्रो संग देख्न थालेका छन् । हिँड्न सक्ने भएका छन् । तुलनात्मक रुपमा उनीहरुको जीवन सहज भएको छ ।
घरको जेष्ठ नागरिकको आँखाको समस्या समाधान भएपछि परिवारका सदस्यहरु समेत खुसी छन् । हरि बहादुरकी श्रीमती क्वारादेबि भन्छिन,‘मान्छेको लागि आँखा त सबैथोक नै रहेछ ।’
पालिकाले सञ्चालन गरेको ८ वटै वडाका आँखा शिविरमा ९ सय ३१ जना आँखाका विरामी भेटिएको नौबहिनी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस मध्य १ सय १७ जनाको बिजुवारको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया भएको नौबहिनी गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख ञmषिराम शर्माले जानकारी दिए । पालिकाको अनुसार नौबहिनी १ मा १०, २ मा २०, ३ मा १५, ४ मा १६, ५ मा १७, ६ मा १४, ७ मा ७ र ८ नम्बरवडामा १७ जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ ।
गाउँपालिकाले गत वर्ष ६० वर्षभन्दा माथिका नागरिकको आँखाको निःशुल्क उपचारको लागि ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । यस्तै २ लाख रुपैयाँ शिविर चलाउन खर्च भएको पालिकाले जनाएको छ । ७ लाख खर्च गरेर जेष्ठ नागरिको निःशुल्क आँखा उपचार गरिदिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए । गाउँपालिकाले प्यूठान नगरपालिका ४ मा रहेको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारसंग सस्झौता गरेको पौडेलले बताए ।
पालिकाले यस वर्ष पनि ६० वर्ष माथिका जेष्ठ नागरिको निःशुल्क आँखा उपचारको लागि बजेटको व्यवस्था गरेको पालिका अध्यक्ष्य डिलबहादुर थापाले बताए । ‘यस वर्षको लागि आँखा अस्पताल बिजुवारसंग सम्झैता गर्ने तयारी गर्दै छौ,’अध्यक्ष थापाले भने ।