News Portal

रेडियो सुन्नुहोस्

उद्योगीकै पल्ला भारी, किसानलाई मार : उखुको मूल्य निर्धारण

निकेश खत्री२०७८ पुष २२,
७६९ पटक
२०७८ पुष २२,

सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई रुवाइरहेका चिनी उद्योगीकै पल्ला भारी भएको छ । ढिला गरी मूल्य तोकेको गरेको सरकारले उद्योगीलाई नै फाइदा हुनेगरी निर्णय गरेको हो । किसानले सामान्यतयाः कात्तिक अन्तिम सातादेखि नै उखु काट्न र चिनी मिललाई बेच्नु थाल्छन् ।

तर, सरकारले त्यसको डेढ महिनापछि बल्ल हिजो (बुधबार) मूल्य निर्धारण गरेको हो । सरकारले यो वर्षभरका लागि उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ (अनुदानसहित) तोकेको छ । जसमा उद्योगीको प्रष्ट जित झल्किन्छ । उखु किसानले यस वर्षलाई उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँभन्दा बढी निर्धारण हुनुपर्ने माग राखेका थिए । यस्तै, उद्योगीले ५८० रुपैयाँ प्रतिक्विन्टल मूल्य तोकिनुपर्ने अडान राखेका थिए ।

कृषि तथा पशुपन्छी मन्त्रालयले उद्योगी र किसानलाई मन्त्रालयमै बोलाएर छलफल गर्दा दुवै पक्षले आ–आफ्नो अडान राखेका थिए । सोही अडानमा कुरा नमिल्दा केही समय मूल्य निर्धारण प्रक्रिया नै रोकिएको थियो । अन्ततः सरकारले किसानलाई पाखा लगाउँदै उखुको मूल्य तोकेको हो ।

मन्त्रालयमा उद्योगी र किसानसँग संयुक्त छलफलपछि कृषिमन्त्री महिन्द्रराय यादवले किसान र उद्योगी दुवै पक्षलाई मार नपर्नेगरी मूल्य प्रस्ताव गरेको बताएका थिए । उनले भनेका थिए, ‘उद्योगी र किसानले आ–आफ्नै अडान राखेका छन् । दुवै पक्षको मागलाई सम्बोधन गर्ने गरी मूल्य प्रस्ताव गरेका छौँ ।’ उनको भनाइबाट चिनी उद्योगीले राखेको न्यूनतम बिन्दु र उखु किसानले राखेको अधिकतम बिन्दुलाई नै समेट्ने गरेर मूल्य तोकिएको अनुमान गरिएको थियो ।

तर, बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले किसानलाई मार नै पर्ने गरी मूल्य निर्धारण गरेको हो । ‘उद्योगीले भनेकै मूल्यलाई आधार बनाएर उखुको मूल्य तोकिनुले सरकार नै चिनी मिल सञ्चालकसँग मिलेको देखिन्छ,’ उखु किसान संघर्ष समितिका सचिव हरिश्यामराय यादवले भने, ‘सरकारले हामीले भनेको सुन्नै छाडेको छ ।’ उनले किसानको मागलाई नजरअन्दाज गर्दै सरकारले उद्योगीको आवाजलाई बढी प्राथमिकता दिएको आरोप लगाए । भने, ‘उद्योगीहरूले उखुको मूल्य प्रतिक्विन्टल ५८० रुपैयाँ तोकिनुपर्छ भनेकाले १० रुपैयाँ बढाउँदै सरकारले प्रतिक्विन्टल ५९० रुपैयाँ तोक्यो ।’

उनका अनुसार सरकारले तोकेको मूल्यले किसानलाई आम्दानी नै हुँदैन । आजभन्दा तीन वर्ष अगाडी अर्थात् २०७५ सालमै उखुको उत्पादन लागत ३९५ रुपैयाँ प्रतिक्विन्टल थियो । ‘यस हिसाबले आजको दिनमा उखुको प्रतिक्विन्टल उत्पादन लागत ४२० रुपैयाँ आसपास हुन्छ,’ उनले भने, ‘तर सरकारले अनुदानसहित प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको छ ।’ यसबाट उखु किसानले गरेको मिहिनेत र ढुवानी भाडा लगायतका खर्च सम्बोधन नहुने किसानहरूको भनाइ छ ।

पछिल्ला वर्षहरूमा उद्योगीबाट उखु किसानले दुःख पाउन थालेसँगै उखु खेती पनि घट्दै गइरहेको छ । चिनी मिलहरूले वर्षौँ सम्म उखु किनेको रकम नदिँदा वर्षेनी किसान पलायन भइरहेको संघर्ष समितिका पदाधिकारीहरूले जानकारी दिएका छन् । पछिल्लो समय नेपालमा उखु खेती घट्दै गएपछि उद्योगहरूले भारतबाट समेत उखु ल्याउँदै आएका छन् ।

गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ४९७.२ रुपैयाँ तोकेको थियो । यसमा सरकारले प्रतिक्विन्टल ६५.२८ रुपैयाँ अनुदान उपलब्ध गराउँथ्यो । अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल ५६२ रुपैयाँ थियो

यस आधारमा सरकारले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाएर तोकेको हो ।

 

 

राताेपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...