सामान्यता क्रान्ति भन्नाले सत्ता र सत्तासिन वर्ग विरुद्ध आम सचेत र श्रमिक जनताले आफ्ना हक र अधिकारका निम्ति संघर्ष सञ्चालन गर्ने क्रममा उपयोग गरिएको महत्वपूर्ण एबम् शक्तिसाली शब्द नै क्रान्ति हो । यसको अर्थ जनतालाई संगठित पार्दै अर्थात पुरानो राज्य ब्यबस्था ध्वस्त गरि युगान्तकारी परिबर्तनको समय स्थापित गर्ने मार्गमा अघि बढ्नु नै क्रान्ति हो भन्ने बुझिन्छ ।
क्रान्ति पुरानो राज्य ब्यबस्था बदल्ने एक नयाँ अस्त्र हो । आम नागरिको बुझाई पनि यहि छ । कार्ल माक्र्स, माओ, लेनिन, प्लेटो र अरस्तुले के के भने त्यो विश्लेषण यो सानो लेखमा व्याख्या गर्न सम्भव छैन् । मैले यो लेखमा उठान गर्न खोजेको बिषय नितान्त फरक छ । किनभने नेपालमा सफल भएको एउटा महान जन क्रान्ति सहिदका सपनाहरु र अबको नयाँ नेपाल तिनैका बिरगाथा सँग जोडिएको छ ।
नेपालमा हरेक वर्ष माघ १६ गते शहीदको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । हरेक बर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परम्परा थियो । खै, सरकारले किन हो यसपालि शहीद दिवशको कार्यक्रमलाई खास्सै महत्व राखेन् । वि.सं. २०१२ सालदेखि नै काठमाण्डौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवश मनाउन सुरु गरेको हो । त्यसैले शहीद दिवसको पावन अवसरमा ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दै कबि भूपि शेरचनका कबिताका केहि सुन्दर हरफहरु कोर्न मन लाग्यो – “हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए” यी पक्तिहरुले राष्ट्र निर्माणमा शहीदको योगदानलाई बिर्सन सकिदैन् । मुलुकको स्वतन्त्रता, स्वाधीनता, लोकतन्त्र, जनअधिकार र शुसासन निर्माण कार्यमा नेपाली वीर सपूतहरुले आफनो ज्यानको बाजी थापेर देशकै लागि बलिदानी दिए । त्यस्ता ब्यक्तिहरुलाई सम्झिने दिन हो शहीद दिवश । नेपालमा पछिल्लो समयमा बिभिन्न आन्दोलनमा मारिएका ब्यक्तिहरुलाई पनि शहीद घोषण गरिनु पर्दछ भन्ने आवाज वेला वेलामा सुन्ने गरिन्छ । जो पायो त्यही ब्यक्तिलाई शहीद घोषणा गर्दा बास्तविक शहीदहरुको अबमूल्यन र अपमान हुन सक्छ । त्यसैले बास्तविक शहीदहरु को को हुन् ? तिनीहरुको बारेमा राज्यले बीरगाथा लेखेको हुनुपर्दछ र सच्चा सम्मान पनि गरेको हुनुपर्दछ ।
नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना भएपछि माघ १६ गतेको दिनलाई शहीद दिवस भनेर मनाउने गरिन्छ । शहीद भन्नाले आफनो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिको लागि बलिदानी भएर लोकहितका निम्ति आफ्नो जीवन समर्पण गरेका महान ब्यक्तिहरु जसले आफ्नो नाम र ख्याति इतिहासका पानामा र प्रत्येक देशभक्त नागरिकको मन मनमा बस्न सफल अमर व्यक्तिलाई बुझाउछ । त्यसैले माघ १६ गतेको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा एउटा एतिहासिक दिन हो भनेर आम नागरिकले बुझने गर्दछन् । बि.स. १९९७ साल माघ १६ गते जहानिया राणा शासनविरुद्ध आवाज उठाउने र त्यस शासन व्यबस्थालाई जरैदेखि उखेलेर नेपालमा प्रजातान्त्रिक व्यवस्था आवश्यक छ भन्दै समानतामूलक शासन प्रणाली स्थापना गर्नको लागि कुनै प्रवाह नगरी जीवन उत्सर्ग गर्ने महान शहीदहरु शुक्रराज शास्त्री, धर्मधक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरको बारेमा नजान्ने र नबुझने प्राय कमै होलान् । स्कुले जीबनका बालबालिकादेखि बिश्वबिधालयसम्म पढ्ने बिधार्थीहरुका लागि समेत यिनीहरुको बीरगाथा पढ्ने, पढाउने, सिक्ने र सिकाउने गरिन्छ ।
शहीदहरु देशका अमूल्य निधि त हुन् नै उनीहरु समाज र सिङ्गो देशलाई नयाँ दिशा र अग्रगामी बाटोमा मार्गदर्शन गरिरहने एक पथप्रर्दशक रुपमा लिन सकिन्छ । नेपालमा सहादतको हिसाबले हेर्ने हो भने प्रमाणिक रुपमा लखन थापालाई नै पहिलो शहीद भन्ने गरिन्छ । पल्टनका लाहुरे थिए लखन थापा । उनलाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा बि.स. १९३३ सालमा गोरखा जिल्लामा अबस्थित मनकामना मन्दिर अगाडि रुखमा झुण्डाएर मारिएको थियो । बि.स. २००७ सालदेखि २०६२÷६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अबलोकन गर्दा हाम्रा थुप्रै ज्ञात अज्ञात देशभक्त बीर सपूतहरुले सहादत प्राप्त गरेको कुरा शास्वत सत्य हो ।
१९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौंको पचलीमा एउटा बगैनाको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्डाएर मारिएको थियो । धर्मभक्त माथेमालाई हत्या गरेर मारियो । त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्द ठाकुरलाई काठमाण्डौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे र १९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेर मारेको थियो । मर्ने वेला जय नेपाल भन्ने अन्तिम शब्द प्रयोग गर्ने महान व्यतिm तिनै शुक्रराज श्रेष्ठ थिए । यी चार जना बीर सपूतहरु देशकौ लागि मरेर गए । हुनत नेपालमा केही राजनीतिक परिर्वनमा लागेर घाइते तथा पीडित भएका व्यक्तिहरुलाई जिउँदो शहीद भनेर घोषणा गरिने प्रचलन रहेको छ । नेपालमा सबैभन्दा पहिला नेपाल प्रजा परिषद नामक राजनीतिक पार्टी १९९३ मा स्थापना गरिएको थियो । उक्त पार्टीलाई सूत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्क प्रसाद आचार्यलाई भने बाहृमण भएकै कारणले गर्दा मार्न हुन्न भनी चारपाता मुडेर सँुगुरको पाठो झुण्डाई आजीवन कारावासको सजाय दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउँदो शहीद भनेर भन्ने गरिन्छ । ।
शहीद दिवश किन मनाउनु पर्दछ ? शहीदका सपनाहरु के के थिए ? देश र जन्ताको लागि किन बलिदानी दिए ? प्राय गरेर औपचारिक कार्यक्रमहरुमा शहीदको नाममा किन एक मिनेट मौनधारण गछौं ? शहीदहरुको फोटा तथा मुर्तिहरुमा किन माल्यारोपण गछौं ? बीर शहीदहरुको बलिदानी नभएको भए नयाँ नेपालको यात्रा र आम सर्वसाधरण नेपालीहरुको भविष्य कस्तो हुन्थ्यो होला ? यी बिभिद प्रश्नहरुले क्रान्ति, शहीदका सपनाहरु र अबको नयाँ नेपाल भन्ने अलग अलग विषयलाई एउटै शिर्षकमा बढो गम्भीरताका साथ अध्ययन गरिएको छ । जेहोस् शहीद दिवस र सप्ताहमा आयोजना हुने विविध कार्यक्रममा हामी शहीद र बेपत्ता योद्धाहरुको सपना पूरा गराउने दिशामा अग्रसर हुनु पर्दछ । सायद शहीदका सपना र इच्छाहरु पनि त्यहि थियो – “जन्ताको क्रान्ति सफल हुनुपर्छ, देश समृद्ध बनोस्, सर्बसाधारण जन्ताले मानब अधिकारको प्रत्याभूति गर्न पाउन् , भष्ट्राचारको अन्त्य भई देशमा शुसासन आओस् भन्ने नै थियो ।” त्यसैले त शहीदहरुको त्यही त्याग, बलिदानी र संघर्षको प्रतिफलस्वरुप आज हामीले प्रजातान्त्रिक अधिकारहरु प्राप्त गर्न सफल भएका छौ । यो सबैलाई सर्बबिदितै भएको कुरा हो ।
शहीद दिवशको सन्दर्भमा अब हामी नेपाली अनि हाम्रो राष्ट्रले शहीदका ती सपना पूरा गर्ने र लक्ष्य प्राप्ति गर्ने मार्गमा छौं कि छैनौं भनेर सबैले आत्ममूल्याङ्कन गर्ने बेला आएको छ । भाषण गर्दा सर्बसाधारण देखि ठुला नेताहरुले समेत शहीदका सपनाहरु पूरा गर्न कुनै कसुर बाँकी राख्ने छैनौ भन्दै भाषण फलाक्नेहरुको यहाँ ठुलो जमात छ । तर, शहीदका सपनाहरु पूरा गर्ने दायित्वबोध गर्न हामी कहाँनिर चुक्यौं ? ती सपनाहरु के कति पुरा भए र के कति बाँकी छन् भनेर जनमानसमा समिक्षा गरेको खै ? शहीदका सपना पूरा गर्ने बाटोमा थप शहीद भएकाहरुको योगदानको कहाँ र कति कदर भयो ? सामाजिक बनोटमा असमानता र बिभेद कति हट्यो ? हामी कति स्वाधिन र आत्मनिर्भर बन्यौं ? लोकतन्त्र र गणतन्त्रलाई कत्तिको बलियो र संस्थागत बनाउन सक्यौ ? यी तमाम प्रश्नहरु छलफल र बहस गर्ने बेला भएको छ । शहीदका सपनाहरु साकार पार्ने बाटोमा कहाँनिर भुल भयो ? सबैले समिक्षा गर्न जरुरी छ ।
समाज र देशको बिकास गर्न के गाहृो छ र भन्दै चुनाबमा भोट मागेर बिजयी भएका नेताहरु सिंह दरबार छिरेपछि गाँउ फर्कन रहर गर्दैनन् । देशको ब्यवस्था उस्तै छ । “जुन जोगी आए पनि कानै चिरेका” भनेझै देशमा शहीदका सपना अनुसार परिबर्तन हुन सकेको छैन् । राणा, राजा र पञ्चमण्डलेको पालामा चलेका कुसंस्कार, रुढीबादी, विभेद, शोषण, दमन र अत्याचारका बिभिन्न रुपहरु जारी नै छन् । विदेशमा शिक्षा र रोजगारको लागि जाने मानिसहरुको लर्को दिन प्रतिदिन बढ्दो छ । राजनीतिक दल तथा कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा खास्सै सुधार आउन सकेको छैन् । सरकार, सत्ता र गठबन्धनलाई के कसरी टिकाउन सकिन्छ भन्ने बिषयमा नै नेपालको राजनीति केन्द्रित छ । यस अबस्थामा शहीदका सपनामाथि कुठाराघात भएको आभाष रअनुभूति भएको छ ।
यी महान शहीदहरुले अमरत्व प्राप्त गरेको पनि झण्डै ८३ बर्ष पूरा भएको छ भने १०४ बर्षे जहानिया राणा शासनको अन्त्य भएको आगामी फागुन ७ गते ७३ बर्ष पूरा हुँदैछ । यस अबधिमा नेपालमा धेरै किसिमका राजनीतिक घटनाक्रम भइसकेका छन् । २००७ सालको राणाबिरोधी जनक्रान्ति, २०४६ सालको पञ्चायती बिरोध पहिलो जनआन्दोलन र २०६२÷६३ सालको राजतन्त्र बिरुद्धको दोस्रो जन आन्दोलनको महान् सफलताले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जन्म सम्भव भएको सबैलाई सर्बबिदितै छ । यतिवेला मुलुक दोस्रो संविधानसभा मार्फत घोषणा गरिएको नेपालको संविधानले धर्म निरपेक्षता, संघीयता, समानुपातिक निर्वाचन प्रणाली तथा समावेशीताजस्ता जनताका मौलिक हक र अधिकार सुनिश्ति गर्न सफल भएको छ । यति भएर पनि संबिधानप्रति फरक धारणा र बिचार राख्ने राजनैतक दलहरु पनि छन् । जेहोस् गणतन्त्रमा बोल्न, लेख्न र भन्न पाईन्छ । आम नागरिकमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ ।
नेपालमा गणतन्त्र आएको पनि पन्ध्र बर्ष भईसक्यो । धेरै पटक सरकार फेरिए, प्रधानमन्त्रीहरु फेरिए, मन्त्रीहरु फेरिए तर पटक पटक उनिहरु नै सत्तामा हाली मुहाली गर्न भ्याए । जन्ताको जीवनस्तरमा खासै परिवर्तन आएन् । देशमा भष्ट्राचारले जरा गाड्दै गयो । अहिले पनि ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्ट्राचार अबधारणा सुचकाङ्क सन् २०२२ अनुसार नेपाल विश्वको भष्ट्र मुलुकको सूचीमा ३४ औं अङ्क पाएर ११० औं स्थानमा छ । नेपालको अंकमा केही सुधार भए तापनि भ्रष्ट्राचारव्याप्त मुलुकहरुको श्रेणीमै कायम रहेको छ । मुलुकले सुशासनको अनुभूति गर्न पाएको छैन् । कालो बजारी र महङ्गीले जन्ताको ढाड सेकेको छ । गरिबी, अशिक्षा, बेरोजगार उस्तै छ । बढ्दो बेरोजगारीका कारण गाँउमात्रै हैन् अब शहरका लाखौं जनशक्तिहरुमा समेत बैदेशिक रोजगारको मोह दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
हाम्रा महान् शहीदहरुले कल्पना गरेका आदर्श नेपाली समाज र राजनीतिक व्यवस्था हाम्रो देशमा स्थापना हुन सकेको छैन् । यसै कारणले गर्दा पनि शहीदका सपना पुरा हुन सकेको छैनन् । शासकहरुले शहीद दिवशका दिन शहीद गेटमा पुगेर शहीदका शालिकहरुमा फूलमाला चढाएर शहीदलाई सम्झेको देख्दा अचम्म लाग्छ । अरु बेला शहीदका मर्म, बिचार र भावनाहरुलाई वेबास्त गर्ने नेताहरु शहीद दिवशका दिन असाध्यै सम्झने गर्दछन् । यो अभ्यास नेपाली राजनीतिमा निकै अभ्यास भएको देख्न सकिन्छ ।
नयाँ नेपाल तपाई हामीले सोचेको, रोजेको र खोजेको नयाँ नेपाल किन बनेन ? आम नागरिकले सोध्ने र जिज्ञासा राख्ने बिषय पनि यही हो । नयाँ नेपालको जगमा संधिनानसभावाट संबिधान जारी भएको आठ बर्ष बितिसक्यो । जब संबिधान जारी भयो तब यसले करोडौं नेपालीहरुको सुःख र हर्षका कोशेली ल्याएर आउँछ भन्ने कुरामा बिश्वस्त थिए जनता । तर यथार्तमा त्यसो हुन सकेन् । नेपाली जन्ता अहिले गणतन्त्र रहला कि नरहला भन्ने चिन्तामा छन् । किनभने पछिल्लो समयमा राजा र राजावादीहरुको गतिविधि पनि पर्ख र हेरमा छ । मुलुक गणतन्त्रमा प्रवेश गरेको १५ वर्ष पार गरिसक्दा पनि सडकमा “राजा आऊ देश बचाउ” भन्ने नाराले गणतान्त्रिक व्यवस्था लागु भएको मुलुकमा गतिलो स्वाद र सुगन्ध दिन सकेन् । नेतृत्वकर्ता र शासकहरु कहाँ चुके ? कहाँनेर कमजोरी भयो ? देश किन बर्बाद बनाउदै गए ? गाली र आक्रोस भरि नेताहरुलाई मात्र पोखेर हुदैन् । समृद्ध नेपालको परिकल्पना गर्न नसक्नुमा नागरिहरुको पनि धेरै थोरै कमजोरी भएको छ । हामीले कस्तो नेतृत्वलाई विजयी गराएर पठायोै र उनिहरुले देश विकासमा के योगदान गरे भन्ने बिषमा सबैको चासो हुन जरुरी छ ।
अब साँच्चै नै देश बनाउने हो भने नयाँ सोच, विचार र चिन्तन लिएर अगाडी बढ्नु पर्दछ । सत्तरी बर्ष नाघेका, कान नसुन्ने, आँखाका कमजोरी भएका, शारीरिक रुपमा अशक्त भएका, दीर्घ रोगी नेताहरुले सक्रिय राजनीति जीवनवाट सन्यासी लिनु पर्दछ । शहीदका बलिदानीले ल्याएको गणतन्त्रलाई सुदृढीकरण गर्दै लैजान सक्नुपर्छ । समय घर्केपछि पश्च्याताप गरेर कुनै फाइदा छैन् । नेपालमा सबै चिज छ, तर अबसर केही छैन् । मुलुकलाई भित्राभित्रै चुसेर बर्बाद बनाइसकेका छन् । अहिले पनि समाजमा बर्गीय द्धन्द्ध यथावत नै छ । एक राजा हटाइयो तर सयौं छोटे राजाहरुको आगमन भयो । ७ प्रदेश ७५३ स्थानीयतहमा देशलाई बिभाजन गर्दा पनि कर्णालीको कथा र व्यथा उस्तै छ । हिमाल र पहाडमा सिटामोल र जीवनजलकै अभावमा ज्यान गुमाउनेहरु धेरै छन् । जीर्ण अवस्थामा गुज्रिरेका सामुदायिक विद्यालय र कलेजलाई राजनीति गर्ने प्रयोगशाला बनाएका छ । अबको एक दशक भित्र नै देश वयोवृद्ध, स्कुले बालबालिका नेता तथा तिनैका कार्यकताहरु मात्र रहन्छन् कि भन्ने जस्तो भइसक्यो ।
यति सानो मुलुकभित्र ठुलो प्रशासनिक आर्थिक व्ययभार बढाएर देशको प्रगति हुदैन् । राजनीतकि क्षेत्र भद्रगोल भएपछि अन्य क्षेत्र लथालिङ्ग हँुदोरहेछ भन्ने कुरा पनि नेपाली जन्ताहरुले राम्रो सँग बुझेका छन् । भष्ट्राचार, ढण्डहीनता, कुशासन, नातावाद, आफन्तवाद, पार्टीवाद र कुशल नेतृत्वकै अभावले देश पछाडी परेको सबैले स्वीकार गर्न सक्नु पर्दछ । लोकतान्त्रिक मूल्य,मान्यता र बहुदलीय प्रतिस्पर्धाका आधारमा राजनीतिक व्यवस्थालाई संस्थागत गरी आर्थिक विकास र समृद्धिको मुल बाटोमा देशलाई हिँडाउनु आजको आवश्यकता हो । अबको नयाँ नेपालमा आम नागरिकलाई शान्ति, सद्धभाव, मेलमिलाप र आर्थिक बिकास चाहिएको छ । “कहिले बेल पाक्यो कहिले फेरि बिउ कुहियो” भने जस्तो गर्नु भएन् । सदैब सहिद र क्रान्तिको सम्मान हुन जरुरी छ ।