News Portal

रेडियो सुन्नुहोस्

नगरपालिका क्षेत्रमै नक्सा पास विना बन्छन् घर

शशिधर भण्डारी२०८१ श्रावण ३१
१५४ पटक
२०८१ श्रावण ३१

प्युठानको झिमरुक फाँटमा अव्यवस्थित घर निर्माण भइरहेका छन् । यसले गर्दा एकातिर झिमरुक फाँट कुरूप बन्दै गएको छ भने अर्को तिर बसोबास अव्यवस्थित भएको छ । भवन निर्माण संहिता मिचेर दिनानुदिन भवन वृद्धि हुँदै जाँदा समस्या थपिँदै गएको हो । नगर बासीले नक्सा पास विना नै धमाधम घर निर्माण गरेका छन् । यसमा प्युठान नगरपालिका चनाखो बनेको छैन ।

सरकारले २०७२ वैशाख १२ को भूकम्प पछि सुरक्षित आवासको लागि भवन निर्माण संहिता लागु गरेको छ । तर, प्युठान नगरपालिकामा कार्यान्वयन भएको पाइएको छैन । प्युठान नगरपालिका बनेपछि हालसम्म एक सय २२ घरहरूले  मात्र नक्सा पास गरी (घर निर्माण सम्पादन प्रमाण पत्र ) प्राप्त गरेको  प्युठान नगरपालिका पूर्वाधार विकास शाखा अन्तरगत भवन निर्माण अभिलेखीकरण उपशाखाका अमिन हरि पौडेलले जानकारी दिए । नगरपालिकामा १ सय ८२ जनाले नक्सा पासका लागि निवेदन दिएको पौडेलले बताए । पौडेलका अनुसार रकारले २०७२ भदौमा बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ जारी गरेपश्चात् नगरपालिकामा पाँच सय ६३ घरहरू अभिलेखीकरण  भएका छन् ।

नगरपालिका भित्र घर निर्माण गर्दा अनिवार्य नगरपालिको स्वीकृति लिनुपर्ने नियम छ । तर कार्यान्वयन भएको छैन । कानुन निर्माणको दशक पुग्न लाग्दा पनि कार्यान्वयन गराउन नगरपालिकाले तत्परता देखाउन नसकेको सरोकारवालाहरू बताउँछन् ।

राष्ट्रिय तथ्याङ्क विभागको प्रतिवेदनमा बि.स.२०७८ को जनगणना अनुसार प्युठान नगरपालिकामा ११ हजार २ सय ३५ घरधुरी छन् । ती मध्ये ढलान, पिलर भएका घरको सङ्ख्या १ हजार १ सय ६९ वटा देखिन्छ । दैनिक घरहरू थपिरहेको अवस्थामा बजार क्षेत्रमा सयौँको सङ्ख्यामा नक्सा पास नगरी घरहरू बन्दै आएको  तथ्याङ्कमा देखिन्छ ।

प्युठान नगरपालिकाका सब–इन्जिनियर काशीराम उपाध्यायले भवन निर्माण संहिता अनुसार नक्सा पास गरी घर निर्माण गरेमा भवन सुरक्षित, आर्थिक रूपमा कम लागतमा निर्माण हुने बताए । ‘नक्सा पास गरेर घर निर्माण गर्दा सुरुदेखि सम्पन्न हुँदासम्म प्राविधिक मार्फत निगरानी हुन्छ,’ उनले भने,‘ यसले गर्दा सुरक्षित  आवास निर्माणमा साथै लागत समेत कम लाग्छ ।’ निर्माण संहिता अनुसार बाटो, सार्वजनिक जग्गा, खोलो, लगायत मापदण्डमा आउन झन्झट मानेर घर निर्माण गर्नेहरू नगरपालिकामा नक्सा पास गर्न नआउने गरेको उपाध्यायको भनाइ छ ।

प्युठान उद्योग वाणिज्य सङ्घ, भित्रिकोट बजार इलाकाका अध्यक्ष प्यार अलि खानले स्थानीय तहले जग्गा वर्गीकरण गरी कडाइका साथ भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड कार्यान्वयन नगर्दा समस्या निम्तिने खतरा रहेको बताए । ‘बढ्दो सहरीकरणमा जथाभाबी घर निर्माण हुनु समस्या निम्तिनु हो ’ उनले भने, ‘नक्सा पास नभए पनि चल्छ, । अर्काले गरेन मैले किन गर्ने भन्दै  जथाभाबी घरहरू निर्माण गरेको बताए । उनले यसमा स्थानीय सरकारले कडाइ गर्नुपर्ने बताए ।

प्युठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र बर्माले कानुनी रूपमा कडाइ गर्दै जान थालेको बताए ।‘ हामी निर्वाचित भएर आउनु पूर्व पनि कडाइ थिएन, पछि छलफल भयो र कडाइ गर्दै लगेका छौँ, ’ बर्माले भने,‘यसको कार्यान्वयनका लागि सूचना टाँस, रोक लगाउन नगर प्रहरी, जग्गाको अभिलेखीकरण र व्यवस्थापनका लागि जग्गाको वर्गीकरणका लागि अन्तिम तयारीमा छौ ।’ जग्गा वर्गीकरणपछि   जथाभाबी घर निर्माण गर्ने कार्यलाई रोक लगाउने योजना नगरपालिकाले बनाएको बर्माले बताए  ।

कसरी हुन्छ नक्सा पास ?

प्युठान नगरपालिकाको पूर्वाधार शाखाका अनुसार कम्तीमा ८० वर्ग मिटर  जमिन घर घर निर्माणका लागि नक्सा पास हुन योग्य हुन्छ । उक्त जमिनमा बन्ने संरचनाको नक्सा सहित नगरपालिकामा निवेदन दिनुपर्छ । निवेदन पश्चात् नगरपालिकाका अमिनले फिल्ड अनुगमन गरी मापदण्ड अनुसार जग्गाको रेखाङ्कन, छिमेकीको जग्गा, खोल्सा वा नदी आदिको अवस्था हेरी मापदण्डमा पर्ने भएपछि सूचना प्रकाशन गर्छ । सूचना प्रकाशनबाट कुनै पनि उजुरी नआए घर निर्माणका लागि जमिन भन्दा तल चाहिने संरचना निर्माणका लागि नगरपालिकाले इजाजत दिन्छ । त्यसमा नक्सामा भएको मापदण्ड अनुसार र खटिएको सुपरिवेक्षणका लागि खटिएको प्राविधिकको सल्लाह अनुसार निर्माण गरे जमिन माथिको संरचना निर्माणका लागि इजाजत प्रदान गरिन्छ । निर्माण चरणमा नियमित अनुगमन गरी सबै काम पश्चात् घर निर्माण सम्पन्न प्रमाण पत्र दिइन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...

नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु

नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...

एनपीएलको उपाधि जनकपुरले जित्यो

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...