प्यूठानको ऐरावति गाउँपालिका वडा नं. ६ बिजुली निवासी देव बहादुर थापा भारतमा होटल लाइनमा काम गर्थे। एक बर्ष अगाडि भारत गएका उनी कोरोना भाइरसका कारण भारत लकडाउन भएपछि साथीहरुसँगै आफ्नो जन्मथलो नेपाल फर्किने निधो गरे। उनी सहित १६ जना साथीहरु कपिलबस्तु कृष्णनगर नाका हुँदै नेपाल आएका हृुन्। कृष्णनगर नाका हुँदै उनीहरु चैत्र १२ गते नेपाल भित्रिए। ३ दिन कृष्णनगरमा क्वारेन्टाइनमा बसेपछि गाउँपालिकाको पहलमा उनीहरु ऐरावति गाउँपालिकाको बरौलामा आईपुगे।
उनीहरु अहिले गाउँपालिकाले निर्माण गरेको ऐरावति २ बरौलाको मोति माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा छन्। यहाँ गाउँपालिकाले खाना,बस्न ब्यवस्था गरेको छ। स्वास्थ्यकर्मीको रेखदेख छ र असईको नेतृत्वमा प्रहरीले सुरक्षा पनि दिएको छ। अहिलेसम्म आफुहरु ठिक भएको भन्दै देव बहादुरले भने–“ सुख दुःख गरेर बसेका छौं हामीलाई ठिकै छ बरु तपाईहरु पनि घरमै बस्नुहोला।”
गाउँपालिकाले खानेबस्ने ब्यवस्था गरेको भन्दै आफ्नो,परिवार र समाजको लागि क्वारेन्टाइनमा बस्दा आफुहरुलाई असहज महसुस नभएको क्वारेन्टाइनमा बसेका अर्का तेज बहादुर रानाले बताए। गाउँपालिकाले इन्टरनेटको ब्यवस्था पनि गरेको छ उनले भने –“ दिउँसोको समयमा बसेर इन्टरनेट चलाउँछौं,गाह्रो केहि पनि छैन्।”
क्वारेन्टाइनको समय १४ दिनबाट बढाएर २१ दिन राख्ने सरकारी निर्णयपछि सान्त्वना दिन र त्यहाँको अवस्थाबारे अवलोकन गर्न जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य सहित जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरु बरौला पुगेका थिए। क्वारेन्टाइनमा बसेकाहरुलाई तोकिएको दुरी कायम गरी टाढैबाट सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्र कार्कीले भन्नुभयो –“ तपाईहरु कुनै कैदी होइन, आफु र आफ्नो घरपरिवार समाजका लागि केहि दिन बसिदिनुस्। घरमा पनि बस्ने नै हो।” विश्व नै कोरोना भाइरसको संकटमा परेका बेला सबैले राज्यले गरेको निर्णयलाई मान्नुपर्ने प्रमुख कार्कीको भनाई छ।
क्वारेन्टाइनमा बसेकाहरुले आफुहरु २१ दिन बस्न कुनै समस्या नरहेको बताएकोले निकै खुसी देखिएका कार्कीले प्रहरी नागरिकको साथमा सदैव रहने भन्दै ढुक्कका साथ बस्न आग्रह गर्नुभयो।
जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले यो संकटको समयमा कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न र महामारीको अबस्था सिर्जना हुन नदिन सरकारले अपनाएको बिधिलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो। म पनि ऐरावति बरौला बासी हुँ उहाँले भन्नुभयो–“ आनन्दले बस्नुस् तपाईहरुलाई कुनै समस्या परेमा हामी छौं डराउनु पर्दैन।” प्रमुख आचार्यको आश्वासन पछि आफुहरु सरकारको निर्णयलाई आत्मसाथ गरि बस्ने क्वारेन्टाइनमा बस्दै आएका ऐरावति ६ बिजुली निवासी मोहन रानाले बताए।
स्वास्थ्य कार्यालय प्यूठानका विपद ब्यवस्थापन फोकल प्रसन पुष्कल श्रेष्ठले भाइरसको बिषयमा नयाँ अनुसन्धान भएता पनि कुनै कुनै देशमा १४ दिनपछि पनि भाइरस संक्रमण भएको देखिएकोले २१ दिन सम्म राख्नुपर्ने निर्देशन अनुसार समय थप गरिएको जानकारी दिनुभयो।
त्यस्तै ऐरावति १ दाङबाङ निवासी छमा गाहामगरको परिवार नै क्वारेन्टाइनमा छन्। उनी सँग श्रीमान मोहन र छोरा छोरी गरी ४ जना र अन्य ६ जना सहित १० जना दाङबाङ माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बस्दै आएका हुन्। छमा सहित उनको परिवार १२ बर्ष भयो भारतमा काम गरि बस्न थालेको। उनी कोरोना भाइरस संक्रमणको त्रासका कारण गत चैत १७ गते आफ्नो जन्मथलो आएकी हुन्। अहिले हामीलाई कुनै चिन्ता छैन्, छमाले भनिन्–“ हाम्रो हेरचाह गाउँपालिकाले राम्रोसंग गरेको छ।” उनले क्वारेन्टाइनमा २१ दिन बसेपछि घर गएर के गरी बस्ने भन्ने चिन्ता आफुहरुलाई लागेको बताईन्। उनले थपिन–“ सबैको हितका लागि आफु क्वारेन्टाईनमा बसेका छौं यहाँबाट घरमा गएपछि कसरी दैनिकी चलाउने भन्ने चिन्ताले पिरोलेको छ।”
ऐरावति गाउँपालिकाले बिभिन्न स्थानमा निर्माण गरेको क्वारेन्टाइन मध्ये मोति उच्च माध्यमिक बिद्यालयमा १६ जना, दाङबाङ माध्यमिक बिद्यालयमा १० जना र महेन्द्र माध्यमिक बिद्यालयमा ५ जना गरी ३१ जना रहेका छन्।
स्वर्गद्धारी नगरपालिका वडा नं. ४ निवासी माधव योगी पर्वतमा एउटा निजी कम्पनीमा काम गर्दै आएका थिए। लकडाउनका कारण आफ्नो जन्मभूमि फर्कर्दै गर्दा गोठिबाङ हेल्थ डेक्सले उनलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि उनी पनि १० दिन देखि क्वारेन्टाइनमा बस्दै आएका छन्। हेल्थ डेक्सका स्वास्थ्यकर्मीले बस्न भन्नुभयो उनले भने–“ घरपरिवार,समाज र आफ्नै लागि बस्न तयार भएँ अहिले सम्म मलाई कुनै समस्या छैन्।
उनी संगै स्वर्गद्धारी नगरपालिका वडा नम्बर ६ बेलबास धानधारामा निर्माण गरिएको क्वारेन्टाइनमा ३ जना, वडा नम्बर २ खाल बाल माध्यमिक बिद्यालयमा १६ जना, वडा नम्बर २ धनबाङमै २ जना , वडा नम्बर ४ गंगेश्वरी आधारभूत बिद्यालयमा ५ जना, वडा नम्बर ५ सारी जरुवाखेत प्राबिमा ४ जना, वडा नम्बर ४ कै खलधारा प्राविमा १ जना ,वडा नम्बर ९ को नाम्रीकोट प्राविमा ३ जना र चण्डेश्वरी प्रा.बि भिगृमा १ जना गरी ३५ जना स्वर्गद्धारी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका छन्।
क्वारेन्टाइनमा बसेकाहरुमा अहिले सम्म कुनै पनि स्वास्थ्य समस्या नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसी बताउनुहुन्छ। उहाँले नगरपालिकाको क्वारेन्टाईनमा बसेकाहरुलाई एक आपसमा कोरोना संक्रमण नहुने गरि उचित मापदण्डका साथ ब्यवस्थापन गरेको बताउनुभयो।
लेखक ः प्यूठानबाट रासस र स्वास्थ्यखबर पत्रिकामा काम गर्नुहुन्छ।
क्वारेन्टाइनमा बसेकाहरुको सन्देश –“ हामी ठिकै छौं , तपाईहरु पनि घरमै बस्नुहोला”
दीपा घर्तीफिचर
फिचरमाण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप सम्पन्न
माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप आइतबार सम्पन्न भएको छ । शुक्रवारदेखि माण्डवी गाउँपालिका ३ मार्सिवाङ...
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अधिवेशन सम्पन्न
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा प्यूठानको अधिवेशन सम्पन्न भएको छ । प्यूठान...
रेडक्रस सोसाइटी धरमपानी उपशाखाको साधारण सभा सम्पन्न
नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखाको २१ औ साधारण सभा मल्लरानी ३ धरमपानीमा सम्पन्न भएको छ...
प्यूठानमा जिप दुर्घटना, दश जना घाइते
प्यूठानमा सुमो जिम दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आइतबार दिउसो भालुवाङ–प्यूठान सडक...
चीनको भूकम्पप्रति नेकपा अन्तर्राष्ट्रिय विभागद्वारा दुःख व्यक्त
नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले चीनमा गएको भूकम्पले निम्त्याएको क्षतिप्रति दुख व्यक्त गरेको छ ।...
- रोल्पामा बोलेरो दुर्घटना, एकजनाकाे निधन
- युवा सङ्घ नौबहिनीको नेतृत्वमा युवराज चयन
- आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया
- समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण: अधिकारी
- खानेपानी मन्त्री थापाको बाग्दुला मच्छि पैदलयात्रा सम्पन्न
- ५ देशका राजदूतले लिए शपथ
- भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या
- एमाले मल्लरानीको प्रथम बैठक सम्पन्न
- जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न
- सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति पुन, माओवादी केन्द्रीय समिति बैठकमा सहभागी