गीत संगीतका सर्जक तथा नेता मणीचन्द्र थापाले लेखेको गीत ‘चेरनेटी काटेर जानुभो, आउने ठेगान कहिले हो-कहिले हो, सिउँदोमा सिदुर सारेर जानुभो, घरको दुःख के गर्ने कल्ले हो’ बोलको गीत कुनै बेला प्यूठानी माझ निकै लोकप्रिय थियो । अझै पनि युटुव खोजेर सुन्ने र गुनगुनाउने धेरै प्यूठानी छन् । भर्खर बिवाह गरेर सेनामा जागिर खान श्रीमान प्रदेश गएपछि श्रीमतीले पोखेको वेदना गीतमा समेटिएको छ । लाहुरे पात्र पेन्सन पकाएर फर्के होलान् ।
भरिया सहित चेरनेटी डाँडा भएर फर्कदा श्रीमती खुसीले गदगद भइ होलीन् । लाहुरेले टुहुरी श्रीमतीसंग वषौ वर्ष दुःख सुःख सँगै साटे होलान् । तर, जिल्लाका पाखा, पखेरा र माटोले चिनाएका, प्यूठानी नेताहरुले चेरनेटाबाट फर्केर जिल्लाको विकासमा खासै ध्यान पुर्याएका छैनन् । नेताहरुले प्यूठानी जनतासंग सुःख दुःख साटेका छैनन् ।
छिमेकी जिल्लाहरु रोल्पा, अर्घाखाँची, दाङ र गुल्मीको तुलनामा विकास बजेट प्यूठानमा निकै कम पर्छ । प्यूठानको सिमाना जोडिएको चुँजाठाँटीभन्दा अलि पर गएर अर्घाखाँची हेर्दा सडकको स्तर धेरै राम्रो छ । सडकको स्तर रहेरेर अछट्टै छुट्टिन्छ दुई जिल्लाको सीमाना । अर्घाखाँचीमै विमान स्थल निर्माण हुदैछ ।
सन्धिखर्कमा ठूलो सभाहल निर्माण भएको छ । ठूला दुई वटा लोकमार्ग अर्घाखाँंची भएरै गएका छन् । यहाँका स्थानीयको नेताहरु प्रति खासै गुनासो छैन र सुनीएन । यहाँ को कांग्रेस, को कम्यूनिस्ट तर विकासमा अर्घाखाँचीका नेता एक हुन्छन् भन्दै शान्ती बगैचामा भेला भएकाहरु गफ गर्दै थिए । हाम्रोमा त्यस्तो छैन् । एक पक्षले थोरै भएपनि विकास ल्याएपछि त्यसलाइ कसरी कार्यन्वयन गर्न नदिने भन्नेमा होड् चल्छ । चाल्नेटार विमानस्थल यस्तै भएको छ ।
नेताहरुको भुमिका पनि सबै पक्षलाई मिलाउने भन्दा आफ्नो राजनीति दाउ कसरी पूरा हुन्छ भन्नेमा हुन्छ । प्यूठानमा नेता नजम्मेका होइनन् । बामदेव गौतम, मोहनबिक्रम सिंह, मोहोन वैद्य, मणीचन्द्र थापा, लिलामणी पोखरेल, सूर्य थापा, नवराज सुबेदी, कृष्णध्वज खड्का, डा.गोबिन्दराज पोखरेल लगायत दर्जनौ नेता छन् । सरकारी जागिरेकै कुरा गर्ने हो भने पनि प्यूठानमा जन्मेर पढी हुर्केका उच्च ओहोदामा पुगेका दर्जनौ छन् ।
शिक्षा, अर्थ, स्वास्थ्य, प्रहरी, अनुसन्धान, न्याय, हरेक क्षेत्रमा माथिल्लो पदमा पुगेका प्यूठानीहरु धेरै छन् । यिनीहरुले केहि गर्दै गरेनन् भन्ने होइन । जती गर्नपर्ने थियो त्यती गरेनन् भन्ने हो । उनीहरुको भूमिकाले प्यूठानी जनतालाइ खुसी बनाएको छैन । चेरनेटी डाँडा काटेर उनीहरुको तनमन फर्केको छैन् । चुनाव जिताएर पठाएका नेताले जिल्लाका दुःख हेरेका छैनन् । जिल्लाको विकासमा फड्को मार्ने भनिएका योजनाहरु धेरै जसो अँधुरै छन् ।
यही चेरनेटी डाँडा भएर आउने भालुबाङ-प्यूठान सडकमा यात्रा गर्ने यात्रुले सडक राम्रो नहुँदा धेरै दुःख पाइरहेका छन् । हरेक वर्ष बर्खामा मान्द्रेको खहरेको पहिरोले समस्या पारी रहन्छ । साँघुरो सडक फराकीलो बनाउने योजना अघि बढेको छैन् । जिल्लाको मुख्य सडक अझै सिंगल लेनकै छ । भालुबाङ देखि प्यूठान, बाग्दुला हँुदै बाग्लुङ भिमगिठे, बेनी, मुस्ताङ पुर्याउने भनिएको सडक प्यूठानीको लागि हात्ति आयो हात्ति फुस्सा जस्तै भएको छ ।
प्यूठान नगरपालिका-१ र माण्डवी गाउँपालिका-५, सीमाना पर्छ चेरनेटाको डाँडो । हुन त चेरनेटा भन्दा परसम्मै रोल्पा सीमाना किमिचौर र दाङ सीमाना शान्तीपुरसम्मै प्यूठान छ । तर, चेरनेटा डाँडा काटेर मात्र प्यूठान उपत्यका भित्रन सकिन्छ । भालुवाङ तीरबाट जिल्ला भित्रदा चेरनेटा डाँडाबाट भित्रेपछि मात्रै जिल्लाको मुख्य बजार बिजुवार, बाग्दुला, झिमरुक फाँट, सदरमुकाम खलंगा लगायत मुख्य-मुख्य बस्ती क्षेत्र पुग्न सकिन्छ । जिल्लाको विकास गर्ने हो भने अव चेरनेटा काटेर गएकाहरु सम्भव हुनेहरु भौतिक रुपमै फर्कनु पर्छ । नत्र तनमन भएपनि फर्काउनु पर्छ । तब मात्र जिल्लाको विकासले फड्को मार्ने छ ।