प्युठान नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । मृतकका परिवारलाइ सान्त्वना स्वरुप ३५ हजार रुपैया प्रति परिवार सहयोग गरेको हो । नगरपालिकामा रहेको तथ्यांक अनुसार नगरपालिका भित्र बसोबास गर्ने १८ जना ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
नगरपालिकाले सोमबारबाट अभियान थालेको नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार पहिलो दिन ५ जना मृतकका परिवारलाइ आर्थिक सहयोग रकम हस्तान्तरण गरीएको छ । सहयोग रकम पाउनेमा प्युठान नगरपालिका ४ जागुरी बस्ने मृतक लाल बहादुर नेपालिको श्रीमती बिस्नी कुमारी नेपाली, प्यूठान न.पा. ४ बिजुवार निबासी स्वर्गीय श्रीमान बाबुराम सुनारको श्रीमति पार्वता सुनार, प्यूठान न.पा. ७ पुण्यखोला निबासी स्वर्गीय श्री बिश्वराज थापाको परिवार, सोही ठाउँकै स्वर्गिय श्री उजेली कुमारी नेपालीको परिवार र प्यूठान न.पा. ४ बिजुवारका स्वर्गीय जीव बहादुर खत्रीको परिवारले राहत रकम पाएका छन ।
आप्नो परिवारको सम्झनामा नगरपालिकाले दिएको राहत रकमले पुन घाउ बल्झाएको जनाउँदै पिडित परिवारले आर्थिक संकटको समयमा राहत सहयोग पाएकोमा नगरपालिकालाइ धन्यवाद दिएका छन । राहत रकम बितरण कार्यक्रममा नगरप्रमुख अर्जुनकुमार कक्षपति, नगर उपप्रमुख शान्ता आचार्य, स्वास्थ शाखा प्रमुख गोबिन्द घिमिरे सहितको टोलि मृतकको घरमै पुगेका थिए ।
प्युठान जिल्लामा पहिलो पटक प्युठान नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख अर्जुन कुमार कक्षपतिको भनाइ छ । उनका अनुसार बाँकी अन्यलाइ पनि मृतक परिवारको घरमै पुगेर सहयोग रकम बितरण गरिनेछ ।