कुरो धेरै अगाडिको होइन, राणाकालिन विर्तावाल, जिमुवाल र मुखियाको समयको हो। गाउँमा यिनीहरु कै राइँदाई चल्ने गर्दथ्यो। यिनीहरुको सामुन्ने खडा भएर यिनीहरुको बिरोध गर्ने मानिस कमै हुने गर्थे। तर एउटा गाउँमा एउटा यस्ता युवक थिए जस्ले मुखिया जिमुवाल र विर्तावालको उपस्थिति छैन भने यिनीहरुलाई तह लगाउने मानिस म नै हो भनेर सर्वसाधारणका अगाडि निकै धाकधक्कु लगाउथे। कतिपयले होला त नि भनेर विश्वास पनि गर्थे।
एक दिन गाउँमा यि ठुलाबडाहरु कै अगुवाईमा गाउँभेला गरियो। आफ्नो स्वार्थ पुर्ति हुने खालका कार्यक्रम र योजनाहरु गाउँमा सम्पन्न गर्ने बारेमा यिनीहरुले छलफल चलाई रहेका थिए। उक्त भेलामा उनीहरुको स्वार्थपुर्ति हुने कुराको बिरुद्धमा कोहि पनि मानिस बोल्न सकेनन् र एक मतले उनीहरुको योजना र कार्यक्रमलाई स्वीकार गरियो। कतिपय मानिसहरुलाई लागेको थियो कि यो योजना र कार्यक्रम ति ठुलाबडाहरु कै स्वार्थपुर्तिको निम्ति हो। तर त्यहाँ बिरुद्ध मत राख्ने हिम्मत कुनैको भएन। त्यहाँ सर्वसाधारण जनताका अगाडि धाक लगाउने युवकको पनि उपस्थिति थियो। तर उसले पनि त्यहाँ प्रतिरोध गरेन। त्यसपछि भेलाको कार्यक्रम सकिएर सबै आ आफ्नो घरतिर फर्किए। अर्को दिन सर्वसाधारण जनताको अगाडि ति युवकले हिजोको योजना कार्यक्रमको धज्जी उठाउन थाले।
त्यहि बेला एक जना गाउँलेले भने “हिजो उनीहरुको सामुन्ने एक शब्द बोलेनौं। आज यो भण्डाफोरको के अर्थ छ ?”। अनि त्यो युवकले निकै दृढताका साथ भन्यो“ मैले हिजो चिसोका कारण खाष्टो ओढेको थिए। जब त्यो योजना र कार्यक्रमको बारेमा छलफल हुँदै थियो। त्यो बेला मैले देखेस पर्खेस भन्दै खाष्टा भित्रबाट औला ठड्याई रहेको थिए। तपाईहरुले देख्नु भएन र मैले तपाईहरुको साथ पनि पाइन। खाष्टो भित्रबाट औला ठड्याउने हिम्मत मेरो बाहेक अरु कस्को छ ? त्यसैले म यि शोषक सामन्त सँग नडराउने एउटा निर्भिक ब्यक्ति हुँ।” फेरी गाउँलेले प्रश्न राखे “ खाष्टो भित्रबाट औंला ठड्याएको कसैले पनि देखेनन् खाष्टो भित्रबाट औंला ठड्याएको हो वा होइन यसको के प्रमाण छ ?”। ति युवकले तुरुन्तै जवाफ दिए“ खाष्टो ओढेको त सबैले देख्नु भयो। त्यस्तो अबस्थामा खाष्टो भित्र हात र औंला रहेको पनि स्पष्ट हुन आउँछ। अनि मैले औला नठड्याएको हुँला त ? मैले औंला ठड्याएको हो भन्ने कुराको प्रमाण मेरी श्रीमति छिन्। नपत्ताए मेरी श्रीमतिलाई सोध्नु भए हुन्छ ” भनेर ति युवकले आफ्नो सबुत प्रमाण र साक्षी समेत पेश गर्दै गर्दा उनकी श्रीमति त्यहि टुपुलुक्क पुगिहालिन्। अनि गाउँलेले सोधे “ के हिजो भेलामा तपाईका श्रीमानले शोषक सामन्तको बिरुद्ध औंला ठड्याउनु भएको हो ?” ति युवककी श्रीमतिले तूरुन्तै जवाफ दिइहालिन “ हो हजुर, उहाँको दाहिने हातको चोर औंलामा घाउँ लागेको थियो डाक्टरले औंला नलत्रीने गरी ठाडो पारि ब्यान्डेज गरेको थियो। त्यो अबस्थामा खाष्टो भित्रबाट औंला ठड्याउने काम त अनिवार्य नै भयो”।
यो सुनेर सबै जनता गल्ल हाँसेर भने “तपाईकै श्रीमतिले बास्तविक कुरा बताउनु भयो”। ती युवकले खुसी हँदै भने “ बास्तविक कुरा बताउने मेरी श्रीमतिलाई अब तपाईहरुले केहि त गर्नुपर्यो नि? अरु मुख्य जिमुवाल र विर्तावाल भए पनि मेरी श्रीमतिलाई गाउँको कटुवाल त बनाई दिनु पर्यो नि”। त्यहाँ उपस्थित जनताले भने “ तपाई त धाक भन्दा धक्कु ठुला हिड्न लागे खुट्टा लूला”भने जस्तै हो। जे होस् तपाईकी श्रीमतिलाई हामीले कटुवाल सम्म त बनाउछौं”। केहि समय पछि कटुवाल बनाउने सभा गाउँमा बस्यो र सबैले एकमतले उनकी श्रीमतिलाई कटुवाल बनाए। खाष्टो भित्रबाट औंला देखाएर पनि फाइदै भयो भनेर ति युवक आजकल निकै प्रसन्न देखिन्छन्।
-मोहन गिरी स्वर्गद्धारी क्याम्पसका पुर्व क्याम्पसप्रमुख एवं वरिष्ठ लेखक हुनुहुन्छ।