News Portal

रेडियो सुन्नुहोस्

‘ओमिक्रोन’ कोभिडको नयाँ भेरियन्ट, खतरा कति?

दिनेश गौतम२०७८ मङ्सिर १२ काठमाडौं,
३८६ पटक
२०७८ मङ्सिर १२ काठमाडौं,

डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ । स्थलगत भन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो ।

ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ। दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो। त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो। डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ। एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भावित प्रभावबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। चार दिनको अवधिमा अफ्रिकासहित हङकङ, बेल्जियम, वोत्सवाना र इजरायलमा समेत संक्रमण पुष्टि भइसकेको छ।

बेलायतले ६ मुलुकसँगको हवाई उडान बन्द गरेको छ। अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले कोभिड–१९ संक्रमण बढ्दै गएको र नयाँ भेरियन्ट अझ खतरनाक भएकाले संकटकाल लगाइएको जनाएका छन्।

अस्ट्रेलियाले बाहिरी मुलुकबाट आउने उडानमा कडाइ गरेको छ। भारतलगायतका मुलुकले उच्च सतर्कता अपनाएका छन्। कतिपयले दक्षिण अफ्रिकासँगको हवाई यात्रामा प्रतिबन्ध लगाएका छन्। भारतले बाहिरी मुलुकबाट आउने यात्रुको स्क्रिनिङ र परीक्षणमा विशेष ध्यान दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अफ्रिकाबाट नेपालमा सीधा हवाईसम्पर्क नभएकाले प्रत्यक्ष जोखिम नभएको बताए। ‘विभिन्न मुलुकका ट्रान्जिट प्वाइन्ट हुँदै नेपाल प्रवेश गर्नेबाट संक्रमण सर्ने जोखिम छ। विमानस्थलमा हेल्थ डेस्क तयारी अवस्थामा छ,’ डा. पौडेलले भने, ‘संक्रमणको जोखिमपूर्ण मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ।’ स्वदेशमै ल्याब स्थापना भएका कारण नमुना परीक्षणका लागि विदेश लैजानु नपर्ने पौडेलले बताए। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतबार बस्ने बैठकले ओमिक्रोम भेरियन्टका लागि अपनाउनुपर्ने सावधानीबारे आवश्यक निर्णय गर्ने जनाइएको छ।

हवाई आवागमन जोखिम
दक्षिण अफ्रिकाबाट नेपालमा सिधै हवाई सम्पर्क छैन। यद्यपि, ट्रान्जिटबाट आउने यात्रुहरूमा संक्रमण हुन सक्ने भएकाले जोखिम यथावत् रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भारतमा संक्रमण पुष्टि भएको अवस्थामा नेपालमा पनि संक्रमणको चिन्ता थपिने बताउँछन्। ‘स्थलगत भन्दा हवाई मार्ग मै विशेष ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने।

निगरानी र परीक्षणलाई ध्यान दिनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको भनाइ छ। ‘जनस्वास्थ्यका मापदण्ड पालनालाई कडाइ गर्नुका साथै निगरानी र परीक्षणको दायरालाई पनि बढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘जिन सिक्वेन्सिङ नियमित भइरहेको छ। अहिलेसम्म कतै पुष्टि भएको छैन। तर, संक्रमणको जोखिम छ।’ मन्त्रालयले त्रिभुवन विमानस्थललगायत सबै नाकामा रहेका हेल्थ डेस्कमा परीक्षण, सिक्वेन्सिङ र शंकास्पदलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ।

खोप कति प्रभावकारी होला ?
नेपालमा हालसम्म कोभिडविरुद्धको १ करोड ७८ लाख ३३ हजार ८ सय १० मात्रा खोप लगाइसकिएको छ। कुल जनसंख्याको २७.३ प्रतिशतले पूर्ण र ३१.४ प्रतिशतले कम्तीमा एक मात्रा खोप लिएका छन्। कोभिशिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, जापानिज एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका खोप लगाइएको छ।

डा. पुनका अनुसार अहिले कोरोनाविरुद्ध लगाइरहेको खोप पनि स्पाइक प्रोटिनतिर बढी लक्षित छ। स्पाइक प्रोटिनको स्वरूपमा परिवर्तन आएको अवस्थामा खोपको प्रभावकारितामा ह्रास आउँछ। ‘खोपको प्रभावकारितालाई कम गर्छ कि भन्ने चिन्ता पनि थपिएको छ।’ डा. पुनले भने, ‘म्युटेसन बढी हुँदा एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने क्षमता पनि वृद्धि हुने हो कि भन्ने कुरा पनि छ। घातक कत्तिको छ ? भन्ने बारे धेरै कुराहरू सार्वजनिक हुन बाँकी छ।’

अत्यधिक मात्रामा देखिएको म्युटेसनका कारण वैज्ञानिकहरूसमेत चिन्तामा छन्। ‘स्पाइक जिन हाम्रो शरीरमा प्रवेश गर्ने जिन हो।’ डा. पुनले भने, ‘ओमिक्रोन भेरियन्टमा स्पाइक जिन बढी देखिएको छ।’ नेपालमा पहिलो र दोस्रो लहरमा कोरोनाको अल्फा, कप्पा र डेल्टा भेरियन्ट पुष्टि भएको छ। दोस्रो लहरमा भने डेल्टा भेरियन्ट बढी जिम्मेवार मानिएको डा. पौडेलले बताए।

कस्तो छ, तयारी ?
हवाई यातायातमा विशेष ध्यान दिनुपर्ने डा. पुन बताउँछन्। सीमा जोडिएका भारत र चीनमा यो भेरियन्टका संक्रमण पुष्टि भई नसकेकाले हवाई मार्ग भई अन्य मुलुकबाट आउने यात्रुमा विशेष निगरानी गर्नुपर्ने डा. पुनको सुझाव छ।

पहिले देखिनै स्थापना गरिएको हेल्थ डेस्कलाई थप चुस्त दुरुस्त पार्ने काम भइरहेको छ। ‘खोप नलगाएका व्यक्तिलाई नेपाल आवागमनमा कडाइ गर्नुपर्छ,’ मन्त्रालयका सह–प्रवक्ता अधिकारीले भने, ‘खोप नलगाएको व्यक्ति प्रवेश गरिहालेको अवस्थामा क्वारेन्टाइनमा राख्नेतर्फ दिइरहेका छौं। अहिलेको महत्वपूर्ण पक्ष भनेको जनमानसमा जनचेतना फैलाउने नै हो। आवत–जावतमा निरुत्साहित गर्नुपर्छ।’

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीका अनुसार संक्रमण पुष्टि भइसकेका मुलुकबाट हुनसक्ने हवाई यातायातमा कडाइ गर्नुपर्छ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ३ जनाको मृत्यु भएको छ। ६ हजार ६ सय ३२ नमुना परीक्षण गर्दा ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ। ३ सय १५ जना भने संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमित ७ हजार १ सय ५६ र संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय २१ छ।

अन्नपुर्ण

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...