कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेका बेला जिल्लामा रहेको एक मात्र पीसीआर परीक्षण प्रयोगशाला आठ महिनादेखि बन्द छ । जिल्ला अस्पतालले चपरतल्लास्थित साविकको महिला विकास कार्यालयमा सञ्चालनमा ल्याएको प्रयोगशाला कामविहीन बनेको हो ।
जिल्लामा सक्रिय संक्रमित ५ सय पुग्न लागेका छन् । तर प्रयोगशाला रहेको भवनको गेट र ढोकामा ताल्चा झुन्डिएको छ ।
ल्याब सञ्चालनका लागि संघीय सांसदद्वय बृजेशकुमार गुप्ताले १ करोड ४९ लाख र चक्रपाणि खनालले २८ लाख रुपैयाँ सहयोग गरेका थिए । जिल्ला कोरोनाको हटस्पट बनेका बेला त्यसको न्यूनीकरणका लागि सांसदले विकास बजेटबाटै मेसिन सञ्चालनका लागि रकम दिएका हुन् ।
त्यस्तै, कपिलवस्तु नगरपालिकाभित्र बस्ने समाजसेवी उमा पौडेलले १ लाख रुपैयाँ सहयोग गरेकी थिइन् । निर्णय भएको साढे ३ महिनापछि असोज १२ गते अस्पतालले मेसिनका लागि ३० दिने टेन्डर आह्वान गरेको थियो । पुस २१ गते मेसिन आइपुगेको हो । १ करोड ५ लाख रुपैयाँ खर्चमा ९ महिनापछि गत फागुनमा उक्त ल्याब सञ्चालनमा आएको थियो ।
ठेक्का लागेर बचेको रकमबाट मेसिन सञ्चालन र कार्यालय व्यवस्थापन गरिएको थियो । तर चार महिना चलेर जेठमा बन्द भएको ल्याब अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । बजेट नहुँदा ल्याब सञ्चालन गर्न नसकेको कपिलवस्तु अस्पतालका प्रमुख डा. किशोर बन्जाडेले बताए । ‘न्यूनतम शुल्क लिएर पनि ल्याब सञ्चालन गर्न मासिक ५ लाख रुपैयाँ चाहिन्छ,’ उनले भने, ‘कतैबाट स्रोत नहुँदा समस्या भएको छ ।’
माघ ९ यता दैनिक ६० भन्दा बढी संक्रमति जिल्लामा थपिँदै छन् । १० गते ८० जना थपिएका थिए । अधिकांशको एन्टिजेन परीक्षणबाटै पहिचान भएको हो । ‘पीसीआर परीक्षण गरेर ढुक्क हुन चाहन्छु,’ कपिलवस्तु नगरपालिकाका प्रकाश अर्यालले भने, ‘यहाँ सुविधा नहुँदा मनमा शंका/उपशंका लिएर बस्नुपरेको छ ।’ दिनानुदिन संक्रमण बढ्दै जाँदा शंकास्पद बिरामीले परीक्षण गराउन चाहना राखे पनि पाएका छैनन् । ‘त्यसका लागि बुटवल, भैरहवा र भरतपुर जानुपर्ने हुन्छ । त्यता जाँदा खर्च बढी हुन्छ,’ अर्यालले भने । यहाँको प्रयोगशालामा एक घण्टामा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमता थियो ।
नतिजा दिन कम्तीमा ६ घण्टा लाग्ने कपिलवस्तु अस्पतालका ल्याब प्रमुख राकेश शाहले बताए । ल्याबमा जनशक्तिको समस्या छ । ‘फुल फेजमा चलाउन १० जना चाहिन्छन्,’ एक प्राविधिकले भने, ‘सामान्य रूपमा चलाउन एक सिफ्टमा कम्तीमा ४ जना चाहिन्छ ।’ कपिलवस्तु अस्पतालसँग ल्याबमा ९ जनाको जनशक्ति छ । जिल्लाका १० स्थानीय तहले ल्याब सञ्चालन गर्न ६/६ लाख रुपैयाँ दिने भनेर गत असारमै निर्णय गरेका थिए । तर अझसम्म रकम आएको छैन ।
ekantipur