बितेका ६ वर्ष र अरु केही समयसम्म म र मेरा पाइला निरन्तर बढिर हेछन्, महालक्ष्मी हुँदै पाटन अस्पताल । आफु हिँडिरहँदा आँखा भने डुलिरहन्छ अघिपछी, दायाँ बायाँ र तलमाथि । आँखाले धेरै राम्रा–नराम्रा, मिठा–नमिठा वस्तु देखेँ, व्यक्ति देखेँ । केही यादमा छन् त धेरै बिर्सि पनि सकेँ । यादमा भएकाहरु नि बिस्तारै गोधुली साँझमा सूर्यको प्रकाश हराएझैँ हराउँदै छन् । तर बिर्सन नसकिने या भनौ बिर्सन कोशिस गरेरै पनि याद आउने केही तस्बीर आँखा अगाडी डुलि रहन्छन् । मन्दिर अघिको सडकपेटी छेउमा एक अधबैसेँ महिलालाई देख्छु निरन्तर केही महिनादेखि । लट्टा परेको कपाल, उदास अनुहार, सेतो साडी, सानो झोला, छेउमा केही पुराना भाँडाकुडा जो कहिल्यै परिवर्तन भएनन् । परिवर्तन भयो त उनले बोरा बिछ्याएर बेच्न राखेको केही तरकारी र फलफुल । ती तरकारी र फल परिभाषा पनि उनी जस्तै छन् ओइलाएका । मलाई कतिपटक सोधौँझँै लाग्छ कि उनी को हुन्, कहाँबाट यहाँ आइपुगिन् ।
उनको यो स्वरुप पछाडिको कथा व्यथा । तर अहँ मलाई त जहिल्यै हतार भइरहने । उनको कथा अड् कल गर्न समय भयो तर एक वचन सोध्न समय मिलेन । बानी न हो आफुमाथि हाबी हुने । म कहाँ अछुतो रहुँला र । उनको सेतो सारी सेतोभन्दा बढी कालो थियो । सडकपेटीको धुलो धुवाँले । उनले त्यो सारी किन लगाइन् होला ? तपाईं र मेरो उत्तर एउटै हो । उत्तर त के भनौँ हामीले गरेको अन्दाज । के साँच्चै पहिरनले मानिसको व्यक्तित्वलाई झल्काउँछ ? हामीले लगाएको पोसाकको परिभाषा सधैं एकैनासको हुन्छ ? यदि हु्न्छ भने मलाई यो जवाफ दिनुहोस् कि अस्पतालमा नर्सले लगाउने सेतो सारी, मन्दिरमा पुजारीले लगाउने सेतो धोतीको अन्तर के ? हो यहाँ एकै पहिरन व्यक्ति, लिङ्ग, भाषा, धर्म, पेसा, ठाउँ अनुसार फरक हुन्छ र यो पनि हुन सक्ला कि कोही त्यही पहिरनमा गर्व महसुस गर्लान र कोहीलाई त्यही पहिरनले पिरोली रहला ।
उनलाई त्यो पहिरनले के महसुस हुन्छ थाहा छैन तर मेरो र तपाईंको अनुमान फेरि पनि एकै हो । कुनै दिन उनलाई मैले भेटुँला या नभेटुँला तर भेटेछु भने यो आशा गर्छु कि उनको पहिरनको परिभाषा बदलिएको होस।