


२०८३ भदौ ११ गतेभोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा राहत तथा रकम सङ्कलन अभियान सुरु भएको छ । जिल्लाका स्थानीय तह, संघसंस्था र व्यक्तिगत स्तरबाट ’प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा रकम जम्मा गर्न थालिएको हो । झिमरुक गाउँपालिकाको तर्फबाट राहत कोषमा १० लाख जम्मा गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीका अनुसार पालिकाको तर्फबाट २ लाख र गाउँपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरूको १ दिन बराबरको पारिश्रमिक राहत कोषमा प्रदान गरिने भएको छ । ऐरावती गाउपालिको तर्फबाट ११ लाख ९ हजार ५ सय ७९ रुपैया प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता गरेको गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले बताए ।
यस्तै विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडः प्युठान नगरपालिका–३, जुम्रीमा मुख्य कार्यालय रहेको यस सहकारीले राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए ।

लायन्स क्लब अफ प्युठान लगायत अन्य सामाजिक संघसंस्थाहरू र स्थानीय दाताहरूले पनि आ–आफ्नो स्तरबाट कोषमा सहयोग रकम जम्मा गर्ने क्रम जारी राखेका छन्।
बाढीपीडितहरूका लागि जिल्लाभरिबाट थप सहयोग जुट्ने क्रम जारी छ ।

रसुवास्थित भोटेकोशी नदीमा बुधबार (भदौ १०) आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा शव फेला परिरहेका छन् भने सरकारले खोज तथा उद्धारको काम जारी राखेको छ। देशी–विदेशी संघसंस्थाले पनि सहयोगको घोषणा सुरु गरेका छन् ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












