केही समय अगाडी निकै भारल जोडी बनेको जोडी बखत विष्ट र प्रतिभा विष्टको अभिनयमा “चामल चौलानी” नामक नयाँ गीत सार्वजनिक भएको छ । पोखरालाई साङ्गीतिक कर्म थलो बनाएकी लोकदोहोरी गायिका तुलसा क्षेत्रीको प्रस्तुती रहेको उक्त म्युजिक भिडियोलाई एक कार्यक्रमका बिच ओम फाउण्डेशन नेपाल कास्कीद्वारा सोमबार पोखरामा लोकार्पण गरिएको हो ।
गण्डकी प्रदेशका सदस्य सांसद राजिव पहारीले म्युजिक भिडियो लोकार्पण गर्दै गण्डकी प्रदेश संस्कृति,कला र संगीतको राजधानी भएको बताएका छन् । उनले गण्डकी क्षेत्र लोककवि अलिमिया, धर्मराज थापा, बुद्धि परियार, हरिदेवि कोइराला, प्रजापति पराजुली, पुरुषोक्तम न्यौपाने, बिबि अनुरागी लगायतका श्रष्टाहरुको जन्मथलो भएको उल्लेख गर्दै यहाँका हरेक कलाकारको हकहितका निम्ती प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता जनाए ।
चामल चौलानीका गीतकार एवम प्रसिद्ध संगीतकार बिबि अनुरागीले गीत नेपाली समाजमा पछिल्लो समय भईरहेको घटनासँग सम्बन्धित रहेको बताए । गीतमा तुलसीलाई स्वरमा पनि साथ दिएका अनुरागीले २०५१ सालदेखि आफु अनवरत रुपमा गीतसंगीतमै लागिरहँदा नेपाली साँगीतिक बजारको वर्तमान अवस्थाको चित्रण गरेका थिए । उनले गीतसँगीतलाई नेपाल सरकारले पनि नजिकबाट केलाउने बेला आएको बताए । अहिले यस क्षेत्रमा खर्च बढी आम्दानी कम भएकाले कलाकार विस्थापित भइरहेको उनको भनाई थियो ।
कार्यक्रममा प्राज्ञ एवम वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले लोकार्पण गीत ‘चामल चौलानी’ एक सामाजिक चेतनामुलक गीत रहेको बताए । उनले गीतमै कथा भेटिएको उल्लेख गरे । समाजमा त्यस्ता कैयन व्यत्ति छन जो सानो तिनो काम गरेर पनि मिठोनमिठो खाई पेट भरिरहेका छन् । सानो काम र ठूलो काम भनि विवेध गर्ने प्रचलन नेपाली समाजमा रहेकाले त्यसलाई चिर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायिका एवम सञ्चारकर्मी शान्ति गुरुङले श्रष्टा परिचय गरेकी थिईन् भने गीतकार सुमन श्रापितले विमोचित गीतको बारेमा बोलेका थिए । फाउण्डेशनका महासचिव सुरेन्द्र गुरुङले स्वागत गरेको कार्यक्रममा श्रष्टाद्वय बिबि अनुरागी र तुलसी क्षेत्रीलाई सम्मानपत्र सहित सम्मान पनि गरिएको थियो । कार्यक्रम फाउण्डेशनकी कार्यवाहक अध्यक्ष उर्मिला खडकाको अध्यक्षतामा सम्पन्न भएको हो ।