क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य धनेश्वर पोख्रेलले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबिच तत्काल एकता नहुने बताएका छन् ।
उक्त पार्टीको जिल्ला सङ्गठन समिति प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल इमानदार क्रान्तिकारीहरूसँग धुर्विकरणको पक्षमा भए पनि तत्काल कम्युनिस्ट नाम हुने जोकोहीसँग एकता सम्भव नभएको बताए ।
जुन कुरा गर्ने त्यही कुरा मात्र बोल्नेहरूसँग मात्र सहकार्य टिकाउ हुने उनको बुझाई छ । शुक्रवार प्युठानको जुम्रीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सङ्गठन समिति प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले कम्युनिस्ट आलोचित हुनुमा सत्य नबोल्नु मुख्य कारण रहेको दाबी गरे ।
पार्टीले राष्ट्र, राष्ट्रियता, जनतन्त्र, जनजीविकाका हरेक समस्या उठाउँदै सरकारले गरेका गलत कार्यहरूलाई खबरदारी गर्दै आएको भन्दै एजेण्डा मिल्नेसङ कार्यगत एकता हुनसक्ने बताए ।
तपाईँहरूको पार्टी किन खुम्चिँदै छ नि ? भन्ने पत्रकारको प्रश्नमा पोख्रेलले अरू कम्युनिस्ट नामका पार्टीहरूले जनतामा छरेको भ्रम र कतिपयमा देखिएको लालसाका कारण आकारमा त्यस्तो देखिए पनि जनताका मुद्दा उठाउनेमा पार्टी अगाडी रहेको दाबी गरे ।