‘भोको पेट, नाङ्गी कन्नो,
मंसिर मास, जुनेली रात,
गूरु हाम्रा, बाजे गुरु
तिमै्र सेवा, तिम्रै चाक्रि
निम्तै भगो’
उल्लेखित हरफहरु देवाली(मष्टा वा कुल पुजा)मा बोल्ने(धामिले बखान) शब्द हुन् । यसले के प्रष्ट गर्दछ भने भाइभाई मिलेर मरेका बाबु बाजे, बराजुको सम्झना गर्न जुराएको दिन देवाली हो । कुल देवताको सम्झनामा पुजापाठ गरी सबै भाइ मिलेर गरिने हुनाले यो दाजुभाईको भेटघाट दिवस पनि हो । ऐतिहासिकता, प्राचिनता र सामाजित रुपमा एकता राख्ने यी संस्कृति जातीगत पहिचानको माध्ययम बन्न पुगेका छन् । चोखो खाना खाएर देवालीको अघिल्लो रातबाट भोकभोकै बसी कुल देवताको पुजा गर्ने वा शरिरमा मष्टा चढाउन बखान गर्ने चलन रहेको छ । कुल पुजा गर्ने तिथिको दिनको अघिल्लो दिन देखि चाखो खाने र पुजाको दिन भोकै सेता कपडा, कपाल काटेर टुप्पी मात्रै फरक शैलिमा देखिएका धामी(शरिरमा मष्टा चढाएर काम्ने र बक्ने) काम्ने चलन छ ।
प्यूठानका देवाली राष्ट्रिय रुपमा ख्याती प्राप्त छन् । जसका कारण प्यूठानका केही देवालीहरु सांस्कृतिक धरोहरको रुपमा वा प्यूठानको सांस्कृतिक पर्यटनको आयामको रुपमा अब्बल बनेका छन् । ३०÷४० घर वा थोरै परिवार भएका थरहरुको देवाली महत्व भएपनि खासै चर्चामा आउन सकेका हुँदैनन् तर ठुलो संख्यामा भाइपरिवार भएका र अन्य वाहिरी थरहरुलाई पनि विश्वास दिलाउने खालका देवालीहरु जिल्लाका साझा सांस्कृतिक सम्पदा बन्न पुगेका छन् । लुङ, लुप्लुङ, लम्च्याङका देवालीहरु यसका उदाहरणहरु हुन् । प्यूठानमा देवालीहरु थर बिशेष हेरेर फरक फरक तिथिमा पुजा गरिने गरिन्छ । खासमा पूजा मुख्य तया वैशाख पुर्णिमा, वैशाख चर्तुदशी,जेठ पुर्णिमा एकादशी, द्वादशी, मंसिर अष्टमी, पुर्णिमा,पौष पुर्णिमा र भाद्र अनन्ते चतुर्दशी भाद्र पुर्णिमाको सेरोफेरोमा गर्दछन् । तीन तीन वर्षको अन्तरमा गरिने कुलपुजामा कुलका सबैको जमघट हुने चलन छ । कुलदेवता पूज्ने तान्त्रिक चलन पूरानै देखा पर्दछ तर अन्य प्रचलनमा भने परिवर्तित भएको छ । देवाली संस्कृति भड्कीलो र देखासिकी गर्ने प्रवृत्तिको बिकास हुँदा संस्कृतिको जर्गेनामा गर्नमा समस्या उत्पन्न भएको छ । यति मात्रै होइन, लामो समय देखि आफु देखि टाढा रहेका परिवार, सन्तानहरुलाई एकै थलोमा लिएर परिवारिक माया ममता साट्ने दशै, तिहार जस्तै देवाली बन्न पुगेको छ । देवालीमा बोकाको बोका कति बलि दिने र कस्ले कति खर्च गर्ने भन्ने प्रतिष्पर्धा हुन थालेको प्यूठानका सामाजिक अगुवा गुमानराज पुलामीले बताए ।‘कुल पुजा मानिसको सभ्यताका साथसाथै नेपाल राज्यको इतिहाससंग जोडिएको छ ।’ गुमानराज पुलामीले भने ‘जातीय उत्पती र इतिहास खोज्दै जाँदा नेपालको राज्यको इतिहाससंग जोडिएको छ।’ देवाली संस्कृति पितृको सम्झना हो । देवालीको समय आउने एक महिना देखि बिदेश वा स्वदेशमै भएर पनि फरक फरक जिल्लामा रहेका छोरा, छोरी, बुहारी, नातिनातिनाले घर भरिलो भएको हुन्छ । घरमा भएका, अगेनो, मझेरी, ताल, भित्तो सिरक, डसना लगायतका सबै सामानहरुको चोखो गर्ने भन्ने प्रचलनले सफा भएको हुँदा गाउँ अन्य समय भन्दा देवालीको समयमा सरसफाईयुक्त वातावरणले सबैतिर चहल पहल बढाएको हुन्छ । देवाली सस्कृतिलाई भड्कीलो भन्दा पनि सभ्य बनाउनु पर्नेमा पुलामीको जोड छ ।
दुई चार घर सन्तान भएका थरहरुको हुने देवाली खासै चर्चामा नभए हजारौ परिवार सन्तान भएकाहरुको देशभरका विभिन्न जिल्लाबाट हुलका हुल आउने हुँदा लुङ, लुप्लङ, लम्च्याङका स्थानमा भएका देवालीहरु राष्ट्रिय स्तरमै चर्चामा छन् । आर्य समुदायको परम्परागत रुपमा चलिआइरहेको यस देवाली संस्कृति मंगोलियन समुदायले पनि मानेपनि एकै समुदायमा पनि फरक फरक रही आएको छ । सबै आ–आफ्नै व्याख्या र बिधिमा पुजा आजा गरिने गरिएको छ । परम्परागत रुपमा मनाइने देवाली संस्कृतिको मौलिकता हराउँदै गएको छ । जिल्लामा हुने देवालीहरुको मनाउने देवाली संस्कृतिमा केहीमा परिमार्जित र परिष्कृत गरेका कारण देवालीको मौलिकता आंशिक रुपमा मात्रै रहेको जानकारहरु बताउछन् ।
देवाली के हो ?
दिन,महिना र बर्ष बित्छ । किनभने समय कसैले रोक्न सक्दैन् । त्यसै गरी बंश(सन्तान) पनि दिनानुदिन फैलिँदै जान्छ ।कसै सजिलै रोक्न सकिदैन । यहि बंश फैलिँदै जाँदा फैलिँदो सन्तानहरुलाई एक आपसमा चिनजान हुन सकिदैन् । आफ्ना आफ्ना वीचको बैबाहिक सम्बन्ध लगायतका विविध पक्षहरुमा मिश्रित हुन् सक्दछ । यहि बैज्ञानिक कारण सहित परम्परागत रुपमा देवाली संस्कृतिको विकास भएको पाइन्छ । खासमा भारत र नेपालका खस समुदायमा प्रचलित देवाली(कुल पुजा) ऐतिहासिक रुपमा एउटै र एकै ठाउँबाट आएपनि भिन्न भिन्न व्याख्याबाट विकसित भइ ठाउ, समुदाय अनुसार भिन्न छ । ऐतिहासिकता लुकेको देवाली संस्कृति भित्र आफु केन्द्रित व्याख्या हुँदा अहिले पौराणिक विधी नै धराप छ तर देवाली गर्ने परम्परा कायम नै छ ।
नेपालका बहुजाती बहुभाषी भएका कारण पनि फरक फरक संस्कृति हुनु स्वभाविक हो तर खस आर्य समुदाय जनु भारतको हिन्दुकुश पहाडको बाटो हुँदै कर्णाली प्रदेशमा हुँदै नेपालमा फैलिए उनीहरुमै फरक शैलिमा देवालीको प्रचलन रहेको छ । पौराणिक कालमा ऋषिमुनीका सन्तानका रुपमा गोत्र विभाजित गरिएको इतिहास छ तर एउटै ऋषिका सन्तान समेत फरक फरक शैलिमा कुल देवताको पुजापाठ गर्ने चलन रहीआएको छ ।
प्यूठान भित्रका केही थरको देवाली
भण्डारी/रिजाल/अधिकारी/न्यौपाने मंसिर अष्टमी
गोतामे सुनार, वि.क. मंसिर पूर्णिमा
खड्का/सुवेदीरपुलामी/पौडेल/थापा/पाण्डे/पोख्रेल/ धामी/पार्धे(भट्टराई) /आचार्य/रोका मगर(सौतामारे), रानामगर(जुम्रीकाँढा)/कालाथोकी/गिरी÷जि.सी. मंसिर पूर्णिमा
मगर(माझकोट, फोप्ली) जेठ/मंसिर द्वादशी
भुसाल/पण्डित चैत र असोज अष्टमी
बिष्ट मंसिर पञ्चमी
को हुन् खस आर्य ?
प्यूठानका लेखक तथा साहित्यकार कमल प्रसाद पोख्रेलले लेखेको‘टिकुरीका दुध पोख्रेलको बंशावली’ नाम पुस्तकका अनुसार बैद्धिक आर्य र खस आर्य थिए । सिन्दु घाटीबाट भारतको मैदानी भागमा प्रवेश गरी विस्तार नेपालको दक्षिण तराईबाट फैलिएका बैद्धिक आर्य र हिन्दुकुश पहाडको बाटो, कश्मिर, कुमाउ, गडवाल हुँदै पश्चिम नेपालमा आएका थिए । पहाडका ब्राहमण, क्षेत्री, वैश्य, शुद्र, दलित खस आर्य र तराईका बैदिक आर्य मानिन्थ्यो । उत्तर मंगोलिया, चिन, तिव्वतबाट आएका मंगोलियन समुदायका मगर, गुरुङ, राई, लिबुहरु समेत खस आर्य समुदायको धर्मलाई साझा बनाएर मान्दै आएका छन् ।
प्यूठानमा मंगोलियन र खस आर्य समुदायको बसोबास रही आएको छ । प्यूठानमा खस आर्य भन्दा बढी मगर वा जनाजाती समुदायको बाहुल्यता रहेको छ । दुवै समुदायका मानिसहरु देवाली(कुल पुजा) गर्ने गरेका छन् । मंगोलियन समुदायमा ल्होछार, भूमे पुजा, ठाकुर पुजा हुने भएपनि देवालीमा पुजा गर्ने मष्टलाई बिश्वास गर्ने गरेका छन् । प्यूठानमा भएका ब्राहमण, क्षेत्री, शुद्र, दलित एकै ठाउँबाट फैलिएपनि फरक फरक चलन सहित विस्तार भएको जानकारहरु बताउछन् ।
इतिहासमा आधुनिकिकरण गर्र्दा बास्तविकता हराउने चिन्ता
प्यूठानमा रहेका बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, पहाडे दलित भाईभाई मिलेर कर्णालीको सिंजा राज्यबाट उत्पत्ति भएको मष्टा देवताको पुजा गर्ने कामलाई देवाली भन्दछन् । खस आर्य समुदायका सम्मान्नित कुल देवता पुजा ‘मष्ट’ हुन् । यसमा पनि १२ भाई मष्ट, ९ बहिनी, ४ समुह, ८४ उपभेद भएको पाइन्छ । खस आर्यको बसोबास भएको खसान क्षेत्रबाटै मष्टको पुजा गर्ने चलन विस्तार भएको र बसाई सराईसंगै स्थान बिशेषको कारणले गर्दा कुल पुजा विधी पनि परिवर्तन भइ मुलविधि नै हराउँदै गएको भएपनि आंशिक रुपमा मात्रै कुल पुजा विधि अस्तित्वमा रहेको लेखक तथा जानकार कमल प्रसाद पोख्रेलले बताए । ‘शुरुवाती चरणमा काठको मौलो बनाएर पुजा गरिने देवालीहरु बिस्तार घरमा परिर्वतन भए, मुल विधिहरु हराउँदै गए’ कमल प्रसाद पोख्रेलले भने‘अपभ्रंश र वलि दिने प्रथाको विकास हुनुले देवालीलाई पछिल्लो समयमा हत्या गर्ने ठाउँको रुपमा व्याख्या हुन थालेको छ।’
जातजातीको आधारमा विभेद गर्नु अज्ञानता भएको भन्दै फरक फरक थर भएपनि एउटै राज्यका गाउँहरुमा रहेका ठाउँबाट थर रहन गएको स्थानीय समाजसेवी तथा सामाजिक अगुवा उमाराम पौडेलको तर्क छ । ‘ग्रामीण संस्कृति र राज्यको इतिहास पर्यटन पवद्र्धनमा महत्वपूर्ण भूमिका रहेको छ।’ उमाराम पौडेलले भने ‘बलि दिने प्रथालाई भने केही परिमार्जित गर्नु आवश्यक छ।’
यस्तै मुक्ती माद्यामिक बिद्यालयका पूर्व प्रधानाध्यापक तथा कष्यप गोत्रीय खड्का समाज प्यूठानका अध्यक्ष टंक बहादुर खड्काले देवाली संस्कृति संरक्षण राज्यको नभई आफ्नो सभ्यताको बिषय भएकाले हरेक थरले आ–आफ्नो संस्कृतिको जर्गेना गरी ग्रामीण पर्यटन विकासमा भूमिका खेल्नु आवश्यक रहेको बताए ।‘जाती एउटा सभ्यता मात्रै होइन, देवाली एउटा सस्कृति मात्रै होइन यो त एउटा नेपाल देशको इतिहास अध्ययन गर्ने बिषय हो’ खड्काले भने‘देवाली सांस्कृतिक तथा ऐतिहासिक पर्यटनको आयाम बन्नु जरुरी रहेको छ ।’
१.लुङको देवाली
सत्रौ शताव्दीमा साधु शोभाखर लुङ्ग आएपछि त्यसको करिव एक शताव्दीपछि लुङ्गको देवाली शुरु भएको विश्वास गरिन्छ । वि.सं. १८३७ मा देवालीमा चढाएको तामपत्र अभिलेख अहिलेसम्म रहेको छ । प्यूठानको साझा सम्पत्तिको रुपमा लुङको देवालीमा मुख्य आकर्षण धजाले सिघारिएको आलम मानिन्छ । आलम जात्रा देवालीको मुख्य आकर्षणको रुपमा मानिन्छ। देवालीको सप्तमीमा कुलघरमा पुजाआजा गरी कुल देवतालाई निम्त्याउने र अष्टमी तिथिमा उदाउदो सुर्यसंगै कुलघरबाट गौरा देवता लैजाने गरिन्छ । यति वेला लैजाने देवताको रुपमा आलम देवालीको मुख्य आर्कषण र सबैको विश्वासको प्रतिक रहेको हुन्छ । बासको लिगोमा ध्वजा, रुपैयामा मालाहरु थप्दै जाँदा एउटा स्वरुप बन्दछ त्यहि स्वरुपलाई आलम भन्ने गरिन्छ । १० मिनेट को दुरीमा रहेको उक्त स्थानमा आलम जात्रा ५ घण्टा वढी समय लगाएर पुग्ने गरिन्छ भने संयौको संख्यामा धामी पुजाँरीहरुले झाँगी समेत प्रदर्शन गर्नेहुदा जात्रा थप आकर्षण हुने गर्दछ । झण्डै १ लाख बढीदर्शक ,भक्तहरु ले उक्त आलम प्रदर्शनको अवलोकन गर्ने गर्दछन् ।
२. लुप्लुङको देवाली
सिंजा राज्यको रिजा पोखरीबाट आएका इतिहास पाइएका भण्डारी थरले गर्ने लुप्लुङको देवाली पनि प्यूठानको प्रमुख देवाली मध्येको एक हो । लुङ र लुप्लुङको देवालीको शुरुवाती समाकालिन मानिन्छन् । रिजा पोखरीबाट आएका कारण रिजाल थर रहेका लुङका रिजाल र राजपरिवारको इतिहाससंग जोडिएका रिजा पोखरीबाट आएमा अहिलेका भण्डारीहरु एउटै ऋषिका सन्तान रहेको मानिन्छ । धनु र मनुका सन्तानको रुपमा चिनिएका लुप्लुङका भण्डारीहरुले लुप्लुङमा रहेको देवस्थलमा मंसिर शुक्ल सप्तमीमा कुलदेवघरमा पुजापाठ गर्ने र अष्टमीको विहानै झुल्के घामसंगै गौरामा जाने गरिन्छ । लुप्लुङको देवालीमा १६ जिल्लामा रहेका भण्डारी दाजुभाईहरु, पोख्रेल, परियार, बि.क. लगायतका थरहरुमा परियार देवाली गर्न आउने गर्दछन् भने असी नब्बे हजार मेला हेर्नका लागि लुप्लुङ आउने गर्दछन् ।यसरी सबै जातजातीको साझा र सामाजिक एकताको प्रतिकका रुपमा लुप्लुङको देवालीलाई पनि लिइन्छ । पछिल्लो समय लुप्लुङको झुलेनी क्षेत्रबाट भण्डारीहरु नेपालका विविन्न जिल्लामा बसोबास गर्दै आएका छन् । शुरुमा लुप्लुङमा मात्रै देवस्थलको रुपमा कुल पुजा गरिँदै आएको भएपनि पछिल्लो समयमा केही समस्याका कारण करिव १६ वटा जिल्लाका धेरै ठाउँहरुमा भण्डारीहरुले देवाली गर्ने गरेको पाइन्छ । कुलकरमा रहेका घण्टा, झ्याली वा केही चिनो चारी आ–आफ्नो ठाउँमा लगेर राख्ने र त्यसलाई देवता मानी देवाली गर्ने गरेको पाइन्छ । यो प्रवृत्तिले एउटै बाउ, बाजेका ३ जिल्लामा सन्तान गएभने पनि तिन ठाउँ देवाली गरेको भेटिन्छ । यसरी धेरै जिल्लामा देवाली गरिने भएपछि भण्डारीहरुको वली दिने बोकाहरु घटेपनि मुल थलो भएका कारण देवालीमा उपस्थिति हुने गर्दछन् ।
३. लम्छ्याङको देवाली
सिंजा राज्यबाट प्रारम्भ भएको मानिने मष्टा तथा बराह देवताको पुजा प्यूठानका सबै देवालीमा पुँजा हुने भएपनि प्यूठान नगरपालिकाको ६ माझकोट लम्छ्याङमा पनि समावेशी रुपमा देवालीमा उपस्थिति भएको पाइन्छ । गौतामे सुनार थरहरुको मुख्य देवाली भएपनि प्यूठानका सबै जातजातीले लम्छ्याङको देवालीलाई साझा सांस्कृतिक सम्पदाको रुपमा लिने गरेको पाइन्छ । प्यूठानको नेटा, चिसावाङ, खप्रेङखोला लगायतका विभिन्न जिल्लामा छरिएर रहेका गोतामे सुनारहरुको देवाली मंसिर शुक्ल पूर्णिमामा गरिने गरिएको छ । यहाँ पुगी तथा दिशा पारी बोकाको बली दिए, परेवा उडाए मनोकामना पूराहुने लक्ष्य सहित गाउँगाउँबाट दर्शन गर्ने र प्यूठानका विभिन्न ठाउँहरुबाटै पनि लम्छ्याङको दिशापारी बलिदिने समेत गरेको पाइन्छ ।
सन्दर्भ सामाग्रीः (प्यूठान नगर क्षेत्रका पर्यटकीय सम्पदा शशिधर भण्डारी ‘समृद्ध’), कमल प्रसाद पोख्रेले‘टिकुरीका दुध पोख्रेलको बंशावली’, प्रज्वल पहाडी माण्डवी साप्ताहिक २०७३/७/२५, नेपाली विकिपिडिया)
सल्लाह सुझावका लागि : ९८५७८३६०२७