


नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको रौनक के शहर के गाउँ, सबैतिर फैलिरहेको छ । तीजको रमाइलो रमझमले सबैलाई नचाईरहेको छ । तर हिजोआज बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण पहिलेजस्तो विरह र वेदना समेटिएका गीतहरु सुनिँदैनन्। पहिले मेरो पनि आमा भात म नि माईत जानी थे, आमाले पकाएको दर खानी थे,जस्ता गितले लामो समय माईती घर जान नपाएको,मिठो कुरा खान नपाएको, वेदनासँगै भावना जोडिएका गितले यसको महत्व बढाउँथ्यो । तीज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो भनेर चिनिन्थ्यो। लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेका छन् ।
महिलाहरुले श्रीमानको घरमा श्रीमान,सासू–ससुरा र अन्य घरपरिवारका सदस्यबाट भोग्नु परेका अन्याय अत्याचार,शोषणका विरुद्ध आवाज उठाउने संस्कृतिमा रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको प्यूठान नगरपालिका –३ की ७७ बर्षिय ज्येष्ठ नागरिक पार्वतीदेवी घर्ती बताउँछिन् ।‘ऊ बेला हामीले कति अभाव र दुःख झेल्यौं’, उनी भन्छिन्,‘अहिले त कति हो कति सुख छ । सुःख पाएपछि अरु के गर्ने महिनौदेखि राम्रो लाउने,नाँच्ने, गाउने मनोरञ्जन मात्रै बढेको छ । ऊ बेला मासुको खासै प्रचलन थिएन अहिले दिनका दिन होटलहरुमा मासुको दर खान्छन्। सकी नसकी ऋण गरेर लुगा, गहना लगाउँछन्। यो अलि भड्किलो हुन थाल्यो’। । विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै उनले भनिन्, “म सानो छँदा गाउँघरमा मादलको तालमा सुख,दुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु तर, आजभोलि तीजका गीत सुन्दा तीजका हुन् होईनन् छुट्याउनै गाह्रो हुन्छ ।आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, विलासी, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ । दरका रुपमा घरबारी मै फनेका बोडी,तामाका परिकार खान्थ्यौं।अहिले जमाना फेरियो।”
दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पार्वतीदेवी मात्रै होइन, पुरानो पुस्ताका प्रायः सबै महिलाका साथै नयाँ पिँढीका सामान्य महिला पनि चिन्तित छन् । प्यूठान नगरपालिका –४ कि सिता भण्डारी पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्छिन । तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।” तीज, तीजजस्तो लाग्दैन। उनी भन्छिन्, “पहिले तीज आउनु एक महिना अघिदेखि गाउँघरमा एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो, छिमेकमा तीजको नाचगान गरेर मनाउँथे । अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा आफ्नै संस्कृति र परम्पराभन्दा रमाइलो र देखासिकी बढी छ।’
त्यस्तै, मल्लरानी –३ कि प्रेमा के.सी पनि नेपाली नारीहरुको लागि तीज पर्वको बिशेष महत्व रहेको बताउँदै तीज मनाउन महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने तर्क गर्छिन। उनी भन्छिन,‘आजभोलि तीजमा राम्रो देखिन फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ।” आजभोलिका गीतमा हाँसो ठट्यौली र छाडापन बोलेजस्तो लाग्छ। तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्ने गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिकी गर्नुहुँदैन ।” परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नु पर्ने उनको तर्क छ । हरितालिका महिलाले दुःख पीडा र गुनासालाई व्यक्त गर्ने पर्वका रुपमा मानिन्थ्यो । विभिन्न टोलका महिला जम्मा भएर र छोरीचेलीलाई निम्तो दिएर चौतारी, चौर तथा घरका आँगनमा नाच्दै वेदना पोख्ने पर्व थियो तर पछिल्लो समय भने यो सब फेरिँदै गएको छ । तीजका पुराना भाकाको ठाउँ आधुनिक गीतले लिएको छ। महिला भएकै कारण गरिने विभेद, आफन्तले गर्ने व्यवहार, अन्याय गरेका कुरा समेटी गाउँमा भेला भएर गाउने तीज गीतका भाका आजभोलि बजारमा रेकर्ड भएका विभिन्न खाले गीतले विस्थापन गरिदिएको छ ।
दिनहँु दरखाने कार्यक्रम
तीज नजिकिएसँगै विभिन्न संघसंस्थाहरुले तीजमिलन कार्यक्रमहरु गरिरहेका छन्। यी कार्यक्रमहरुले भेटघाट र मनोरञ्जन प्रदान गरेतापनि यसले दरखाने दिनको गरिमा घटाएको छ की भन्ने चिन्ता बढ्न थालेको छ । गाउँघरमा रहेका दिदीबहिनी,आमा समुह,संघसंस्थाहरुले गर्ने कार्यक्रम हाम्रो मौलिकता र परम्परासँग जोडिएका हुनुपर्दछ। ताकि ती कार्यक्रमहरुले तीजको गरिमा बढाउन सकुन,भावना साट्ने थलो बन्न सकुन,केहि कुरा सिक्ने अवसर बनुन्। तर तडकभड्क र देखावटीले खर्चिलो नबनुन्। यस्तै सन्देश दिन आइतबार जिल्लामा विभिन्न क्षेत्रमा क्रियाशिल अगुवा महिला दिदिबहिनीहरुले तीज मिलन कार्यक्रम आयोजना गरे ।
‘हटाऊ सबले कुसंस्कार र कुरिती,जोगाऔं हाम्रो गौरवमय संस्कृति’ भन्ने नारा बनाएर छरिएर रहेका दिदीबहिनीहरु एकजुट बनाउन कार्यक्रमको आयोजना गरेको प्यूठान नगरपालिकाका पूर्व उपमेयर शान्ता आचार्यले बताईन्। तीज हाम्रो संस्कृति हो उनले भनिन्– तीजको नाममा विकृति नफैलाऊ,क्षमताअनुसार सभ्य भएर तीज मनाऔं। तीज हाम्रो मौलिकता र भावनासंग जोडिएको छ,यसको गरिमालाई बचाइराख्नु हाम्रो दायित्व हो। उनले लामोसमयदेखि भेटघाट नभएका दिदिबहिनीहरुलाई मिलन गराई भावना साट्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको दोहो¥याईन् ।उनले भनिन,‘हामीले अरुले जस्तो तड्कभड्क हैन,सामान्य तरिकाले भेटघाट ग¥यो,एकअर्काका अनुभव सुन्यौ,गायौं नाच्यौं,रमाईलो ग¥यौ।’ महिलाहरु विभिन्न राजनीतिक पार्टीमा आस्था राख्ने शुभचिन्तक भएपनि साझा सवाल र अन्याय अत्याचारका बिरुद्ध एकजुट भएर अगाडी बढ्नु पर्ने उनको धारणा छ ।
हरितालिका तीज घर आँगनमा आईरहँदा यसको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ । पछिल्ला वर्षहरुमा चाहिँ आधुनिकताका नाममा सांस्कृतिक पक्षलाई बिर्र्सिएर तीज पर्वलाई नै बद्नाम बनाउने काम पनि भइरहेको छ । विशेष गरी शहरी क्षेत्रमा तीज निकै भड्किलो हुँदै गएको देखिन्छ । शहरी महिला दिदीबहिनीले आधुनिकताका नाममा पश्चिमी शैली अनुसार तडकभडक गर्दै तीज मनाउने गरेका देखिन्छन् । महिला दिदिबहिनीहरुले जथाभावी खानपान गर्ने, मदिराले लठ्ठ हुने घातक प्रवृत्तिले तीजको सांस्कृतिक पक्षमाथि नै प्रहार गर्ने हो कि भन्ने चिन्ता सर्वत्र देखिन थालेको छ । त्यसैले यो विषयमा शहरी महिला दिदीबहिनीहरु सतर्क र संवेदनशील बन्नु पर्दछ ।नेपाली महिलाहरूको इतिहासलाई बोकेको यो चाडको धार्मिक तथा सांस्कृतिक महत्व उच्च छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र विवाहितले श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । तर पनि यसको महत्व र यस चाडमा गरिने रमाइलोमा कुनै कमी भने आएको छैन्।
तीज पर्वलाई सबैको मान्य बनाउन र महिला दिदीबहिनीहरुको भावनामा कुनै चोट नपुग्ने गरी आधुनिकीकरण गर्दै लैजानुपर्र्नेमा पछिल्लो समय देखासिकी र तड्कभड्क बढी हुन थालेको मानव अधिकारकर्मी पार्वता आचार्य बताउँछिन् । भावना साटौ,जे छ त्यसैमा रमाऊ, रमाइलो गरौ,नाचौं गाऔं तर हाम्रो परम्परा र संस्कृति नबिसौं। हाम्रो लागि चाडपर्व प्रिय छन्, उनले भनिन्, ‘चाडपर्वले हामी सबैलाई सभ्य,अनुशासित र एकजुट बनाउन महत्वपूर्ण भूमिका खेल्छन् ।’ तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पु¥याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्ने उनको भनाई छ । उनले चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो रहेको बताईन् ।
समस्यालाई गीतको माध्यमबाट व्यक्त गर्ने तीज पछिल्लो समय नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ। बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र वेदना समेटिएका गीतहरु हिजोआज सुनिदैनन् । हामीले हाम्रो संस्कृति र परम्परा बचाऔं । नाचौं गाऔं, रमाऔं तर अरुको देखासिकी गरेर तड्कभड्क नगरौं। तीजमा आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्ने नगरौं। तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिकी नगरौं। परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नु पर्छ।
परम्परा, संस्कृति, संस्कार, रीतिरिवाज हाम्रा अमूल्य गहना हुन् जसले समाजलाई जोडिरहन मद्दत गर्छ भने स्वार्थीपन चिर्न सघाउँछ। यस्ता परम्पराले एक्लिँदै र खण्डित हुँदै गएको समाजलाई जोड्ने तत्वको काम गर्छन् । तीज मनाउन पाउनु सबै महिलाको स्वतन्त्रता हो यसमा आलोचना गर्नुपर्ने छैन तर यसले सबैका आवश्यकता पुरा गर्न नसक्दा विकृति मौलाउँछ कि भन्ने चिन्ता हो । यसलाई ध्यान दिंदै फेदिैं गएका सोंच र आधुनिकपनालाई सम्मान गर्दै,रमाउँदै आफ्नो मौलिकपन नबिसिकन तीज मनाऔं । परम्पराका नाममा फजुल खर्च, सामाजिक, आर्थिक हैसियतमा प्रतिस्पर्धी झल्को देखिने खालका अस्वभाविक क्रियाकलापप्रति भने सचेत हुनैपर्छ। महिलाको आत्मविश्वास बढाई महिला सशक्तीकरण तीव्र तुल्याउने उद्देश्यले तीज मनाउन सकौं। मौलिक आधारको खोजी गरौं,धार्मिक र सांस्कृतिक रुढता होइन सामाजिक र व्यवहारिक सोचको वृद्धि गरौं्,मौलिकता कायम राख्दै यसको सांस्कृतिक महत्व जगेर्ना गर्न भड्किलोपन र खर्चिलोपनलाई हटाउन सकौं । सबैलाई हरितालिका तीजको हार्दिक शुभकामना !
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

